काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस बिचको सहमति मध्यरातमा अँध्यारो कोठाभित्र भएकोले अस्वीकार्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै नेपालले ठूला दुई पार्टी जे गर्यो त्यही स्विकार्न नसकिने बताउनुभयो । ‘मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनेवाला छैन’, नेपालले भन्नुभयो ।
नेपालले राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको खाँचो रहेको बताउनुभयो । जबसम्म स्वच्छ आचरण, नैतिकता र निष्ठा हुँदैन तबसम्म राजनीति र समाजमा रूपान्तरण सम्भव नभएको नेपालको धारणा छ ।
रूपान्तरणको लागि पहिलो कुरा निष्ठा नै आवश्यक पर्नेमा नेपालले जोड दिनुभयो । निष्ठा, समर्पण र त्यागको भावना छैन भने नैतिक अधिकार पनि नहुने नेपालले बताउनुभयो ।
विश्वका कुनै पनि व्यवस्था सर्वगुण सम्पन्न नहुने बताउँदै नेपालले त्रुटि सच्याउँदै अघि बढ्नु पर्ने बताउनुभयो । तर त्यसका लागि खुल्ला बहस चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
