काठमाडौं । एप्पलले आगामी भदौ २५ (१० सेप्टेम्बर) मा आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ । यस वर्षको विशेष कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ उत्पादन प्रदर्शन गर्ने योजना बनाएको हो ।
ब्लुमबर्गले एप्पल स्रोतलाई उद्धृत गर्दै सोही दिन प्रोडक्ट लञ्च कार्यक्रम आयोजना हुने सम्भावना रहेको जानकारी दिएको छ । यस कार्यक्रममा एप्पलले नयाँ आईफोन, वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
आईफोन १६ मा महत्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरूको समावेश हुने अनुमान गरिएको छ । एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा ‘एप्पल इन्टेलिजेन्स’ फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो ।
तर, एप्पलले हालसम्म यस कार्यक्रमको औपचारिक घोषणा गरेको छैन ।
