• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित नेताहरुद्वारा पार्टी परित्याग


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरुको निर्वाचन भइरहेका बेला काठमाडौंका प्रभावशाली अन्य नेताहरुले समेत पार्टीबाट राजीनामा दिएका छन् ।

नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष गृश्मकृष्ण महर्जन, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

जिल्ला कमिटी बैठक बुधबार बोलाइएको र त्यसको पूर्वसन्ध्यामा उपाध्यक्ष सचिवसहितका अन्य धेरै सदस्यको राजीनामा आउने क्रममा रहेको उपाध्यक्ष थापाले बताए । एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् ।

पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हावी भएकाले आफूहरुले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताए । उनी साविक नेकपा एमालेमा ४ नम्बर क्षेत्रीय सचिव र जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका थिए ।

न्यौपानेले विज्ञप्ति जारी गर्दै वामपन्थी आन्दोलन मजबुत बनाउन विभाजित नभई एकीकृत कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गर्दै जनताको बहुदलीय जनवादी लाइनमा उभिन आग्रह गरेका छन् । उनीहरु चाँडै एमालेमा समाहित हुने तयारी रहेको बताइएको छ ।

त्यस्तै बटुकृष्ण थापा कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एसको उम्मेदवार बनी १२०० मत ल्याएका थिए । कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीको निधन भएका कारण सो पदमा मंसिरमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖