• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

संसदमा एमाले र माओवादीको नोकझोक


  • धनकुटा खबर
  • .

१२ भदौ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् ।

डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो।’

उनले अगाडि भने, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’

त्यसपछि माओवादी सांसदहरुले आपत्ति जनाए । सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए ।

सभामुखले समय दिएपछि फेरि बोलेका भट्टराईले माओवादीको हिंसालाई दोहोर्‍याए ।माओवादी सांसदहरुले विरोध गरिरहे । उनीहरुले हिंसा शब्द हटाउन माग गरे । सभामुखले पनि छानबिन गर्न सचिवालयलाई निर्देशन दिए ।तर भट्टराईले प्रतिवाद गरे । उनले भने, ‘हाम्रो राजनीतिक प्रतिबद्धतामा केको छानबिन हुन्छ ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖