• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

सहकारी ठगीमा ‘क्लिन चिट’ पाएँ भन्ने रविको दाबी हास्यास्पद– कांग्रेस प्रवक्ता महत


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगी सम्बन्धमा क्लिन चिट पाएँ भन्ने रास्वपा सभापति रवि लामिछानेको दाबी हास्यास्पद रहेको बताएका छन् ।

गोर्खा मिडिया नेटवर्कको सञ्चालन नै सहकारीको पैसाबाट भएको समितिको प्रतिवेदनले देखाएको अवस्थामा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु अनुचित रहेको महतको भनाइ छ ।

समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि सोमबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै महतले गोर्खा मिडियाको सीईओका रूपमा लामिछाने नै जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

‘समितिको प्रतिवेदन कार्यार्थ सरकारलाई निर्देशन दिइसकेको अवस्थामा कसरी क्लिन चिट पाउनुभयो, थाहा छैन । समितिको संक्षिप्त प्रतिवेदनमा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छ, अन्य कहीँबाट लिएको छैन भनेपछि गोर्खा मिडियाको सीईओ जिम्मेवार हुँदैन ?’ महतले प्रश्न गरे ।

प्रतिवेदनले सहकारीको पैसा गैरकानूनी रूपले गोर्खा मिडियामा आएको र त्यसको परिचालनमा लामिछानेको संलग्नता देखिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको थियो ।

लामिछानेले सहकारी ठगीमा आफूले उन्मुक्ति पाएको दाबी गरेका छन् ।

‘उहाँ स्वयंले म सहकारीको सदस्य होइन भन्नुभएको छ । गोर्खा मिडिया सञ्चालन, उहाँको तलब भत्ता सहकारीको पैसाबाट रहेको छ । जिम्मेवारीको तहमा रहँदा पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ । अझै दोषी होइनौं भनेर निर्धक्कसँग भन्ने कुरा हास्यास्पद छ,’ महतले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖