बृहस्पतिमा मडारिने ग्रेट रेड स्पट आँधी अहिलेसम्म अन्तरिक्ष विज्ञानका लागि रहस्यमयी रहेको छ । आफ्नो रहस्यमय रातो रंग र विशाल आकारका कारण उक्त आँधी शताब्दीऔंदेखि देखि खगोलशास्त्रीहरूको चासोको केन्द्र बनेको छ ।
यो आँधीले बृहस्पतिको दक्षिणी अक्षांशीय बादल क्षेत्रलाई पछ्याइरहेको छ र १५० वर्षभन्दा बढी समयदेखि बृहस्पतिको अशान्त वातावरणमा देखिने गरेको छ । यसको आकार यति विशाल छ कि यसले हाम्रो सम्पूर्ण पृथ्वीलाई निल्न सक्छ त्यसैले यसलाई सौर्यमण्डलकै सबैभन्दा ठूलो आँधी भनिएको हो ।
सधैं परिवर्तनशील वातावरण भएको बृहस्पतिमा यो आँधीको अनुगमन गर्न हबल स्पेस टेलिस्कोप प्रयोग गरिएको छ । हरेक वर्ष बृहस्पतिको यो आँधीको गतिविधि हबलमार्फत अध्ययन गरिन्छ । हालैको एक विशेष अध्ययनले यसको गतिविधिमा नयाँ तथ्य पत्ता लगाएको छ ।
सन् २०२३ को डिसेम्बरदेखि २०२४ को मार्चसम्म हबलले संकलन गरेका तस्बिरहरूले यसको आकृतिमा अप्रत्याशित परिवर्तन देखायो । यो आँधी स्थिर जस्तो देखिए पनि हबलले यसको आकार परिवर्तन भएको पत्ता लगाएको हो । यो
आँधीको अण्डाकार आकृति कहिले पातलो, कहिले मोटो रातो अण्डाकार जस्तो देखिन्छ । यो जेली जस्तै हल्लिरहेको हबलले पत्ता लगाएको छ । यो परिवर्तनलाई यसलाई अहिलेसम्म कुनै हाइड्रोडायनामिक सिद्धान्तले व्याख्या गर्न सकेको छैन ।
यसैले उक्त आँधीलाई थप रहस्यमय बनाएको हो । हबलको उच्च-गुणस्तरको तस्बिरले यस आँधीको आकार परिवर्तनसँगै यसको गति पनि बढ्ने र घट्ने देखाएका छन् । यसको परिणामस्वरूप, आँधीले आफ्नो वातावरणको हावा र जेट स्ट्रीमलाई कसरी प्रभावित गर्छ भन्ने विषयमा नयाँ बुझाइ उत्पन्न भएको छ ।
हबलले देखाएको समय-अन्तरको चलचित्रले यस आँधीलाई जेलीको प्लेट जस्तो हल्लिँदै गरेको देखाएको छ । नासाका गोदार्ड स्पेस फ्लाइट सेन्टरका प्रमुख वैज्ञानिक एमी साइमनले यो नयाँ तथ्यलाई महत्त्वपूर्ण भनेका छन् ।
उनले भने, यसअघि हामीले यसको गतिमा सानो परिवर्तन देखेका थियौं, तर यसको आकारमा पनि परिवर्तन भएको देख्न पाउँदा हामी चकित भएका छौं । हबलले संकलन गरेका तस्बिरहरूले यो आँधीको गति र आकार दुवैमा अप्रत्याशित परिवर्तन देखायो, जुन अहिलेसम्म कुनै सिद्धान्तले व्याख्या गर्न सकेको छैन ।’
साइमनको टोलीले यसको आकार, रङ्ग र अन्य स-साना परिवर्तनहरूलाई नजिकबाट अध्ययन गरेको छ ।
यसलाई पृथ्वीका आँधीहरूको अध्ययनसँग तुलना गर्दै अनुसन्धान गरिएको छ । यसको अप्रत्याशित आकार परिवर्तनले विशाल ग्रहहरूमा हुने आँधीहरूको अध्ययनमा नयाँ दृष्टिकोण ल्याएको छ । पृथ्वीमा देखिने आँधीहरूको तुलनामा यसले थप ठुलो अन्तरिक्षीय दृष्टिकोण दिने अनुमान गरिएको छ ।
