• Monday 5th of October 2026

यी घरेलु विधि, जसले रुघा निको बनाउन सकिन्छ


  • धनकुटा खबर
  • .

डा. मिथिलेश कुमार साह

सामान्यतया रुघा एलर्जी र भाइरल दुई प्रकारका हुन्छन् । धुलो धुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघा लाग्छ । रुघा लागि सकेपछि कसरी निको बनाउने भन्ने भन्दा पनि रुघा लाग्नै नदिने उपाय अपनाउन सकिन्छ । केही सामान्य कुराहरूमा ध्यान दिइयो भने रुघाबाट बच्न सकिन्छ ।

चिसो र तातो एकसाथ प्रयोग नगर्ने

तातोबाट एकाएक चिसो स्थानमा जाँदा वा चिसो र तातो खानेकुरा एकै पटक खाँदा गर्दा रुघा लाग्ने जोखिम बढ्छ । जस्तो चिसो पानी पिएर एक छिनमा फेरी तातो पानी पिउँदा रुघा लाग्छ । चिसो र तातो खानेकुरा एकैचोटी खान हुँदैन ।

रुघा लागेका मान्छेको सम्पर्कमा नआउने

रुघा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले चिसोमा रुघाबाट बच्नको लागि रुघा लागेको मान्छेको सम्पर्क भन्दा टाढा रहनु पर्छ ।

अमिलो खानेकुरा कम खाने

अमिलो खानेकुराबाट भिटामिन सी पाइन्छ भनेर धेरै अमिलो खानेकुरा जस्तो निबुवा, कागतीको सेवन बढी गर्दा पनि रुघा लाग्न सक्छ । त्यसैले चिसो मौसममा धेरै अमिलो खानेकुरा खान हुँदैन ।

नाकमा ‘अणु’ वा ‘षड्बिन्दु’ तेल हाल्ने

नाकमा तेल राख्ने चलन खासै छैन । अहिले सुख्खा मौसममा वातावरण प्रदूषण धेरै हुन्छ । प्रदूषणले एलर्जी भएर पनि रुघा लाग्छ । यस्तोमा एक दुई थोपा ‘षड्बिन्दु’ वा ‘अणु’ तेल राख्दा नाक लुब्रिकेट भएर एलर्जी हुँदैन रुघा लाग्दैन ।

प्राणायाम गर्ने

रुघाबाट बच्नको लागि दैनिक प्राणायाम गर्ने । प्राणायाममा श्वासको गति बढाउने, घटाउने, भित्र लिने, बाहिर फाल्ने र रोक्ने गरिन्छ । यो विशुद्ध श्वासको गति मिलाउने प्रक्रिया हो । प्राणायामले एकाग्रता, स्मरण शक्ति बढाउनुका साथै रोग लाग्नबाट बचाउन समेत महत्त्वपूर्ण भूमिका खेल्छ ।

रुघा निको बनाउने घरेलु उपाय

बेसार पानी पिउने : बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाको समस्यासँग लड्न प्रभावकारी तत्त्व मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एक छिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्नुपर्छ ।

मरीच पानी पिउने : मरीचको धुलोलाई पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघा निको हुन्छ । कालो मरिचलाई घरेलु औषधिको रूपमा लिइने गरिन्छ भने कालो मरीचमा पिपरीन, आयरन, पोटेशियम, मयाग्निशियम, जिंक, क्रोमियम, भिटामिन सी, भिटामिन ए, भिटामिन डी, ऐसे एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्त्व पनि पाइने गर्छ ।

मह र तातोपानी :रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुन सक्छ । महमा रोग प्रतिरोधात्मक गुण हुन्छ । महलाई तातोपानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

बाफ लिने : यदि रुघा लागेर नाक टालिएको छ भने बाफ लिँदा पनि फाइदा हुन्छ । तर, यदि सामान्य रुघा लागेको छ नाक मात्र बगेको छ भने बाफ नलिँदा पनि हुन्छ । कफ जमेको र नाक टालिएको अवस्थामा मात्र बाफ लिनु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖