• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा


  • धनकुटा खबर
  • .

एजेन्सी । महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन्। अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन्।

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन्। महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका थिए ।

प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई ९० दिनका निम्ति निलम्बन गरेको छ भने फिफा अनुशासन समितिले पनि अनुसन्धान थालेको छ। उनले सहमतिमा चुम्बन गरेको बताए पनि खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन्।

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई चुम्बन काण्डले ओझेलमा पारेको छ। विश्वकपअन्तर्गत अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖