• Sunday 4th of October 2026

काठमाण्डौको सडकमा साइकल चलाउने वातावरण छैन : हरिवंश आचार्य


  • धनकुटा खबर
  • .

काठमाण्डौ – वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विलचियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाण्डौमा आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताउनुभएको हो ।

उहाँले काठमाण्डौका सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताउनु भयो ।

आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

उहाँले मानव स्वास्थ्यका लागि पनि साइकल यात्रा उपयुक्त हुने बताउनु भयो ।

साइकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउनु भयो ।

उहाँले सडकका नयाँ संरचनाहरु बनिरहेपछि साइकल लेन छुट्याउन कन्जुस्याँइ गरिएको आचार्यको भनाइ छ ।

उहाँले आफूसँग साइकल चलाउने सीप भए पनि साइकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताउनु भयो ।

आचार्यले भन्नुभयो, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाइकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछुु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो।’

त्यस्तै प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुुपर्ने बताउनु भयो ।

उहाँले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विलचियर यात्रीका लागि पनि भएको बताउनु भयो ।

उहाँले काठमाण्डौ संसारकै प्रदुषित शहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको बताउनु भयो ।

उहाँले गाडीले अस्वभाविक ढंगले धुवाँ फालिरहेका कारण पनि प्रदुषण बढेको बताउनु भयो ।

श्रेष्ठले भन्नुभयो, ‘सडक खाली गाडी गुड्नको लागि मात्रै होइन । सडक बटुवाको पनि हो अपाङ्गको पनि हो । त्यसकारण उहाँहरुको सुरक्षामा ग्यारेन्टी हुने खालको सडक व्यवस्थापन गर्नुपर्छ । सुरक्षाको व्यवस्थापन गर्नुपर्छ ।’

पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖