• Sunday 4th of October 2026

भद्रपुरमा भेटिएका शिशुको अभिभावकत्व लिन डक्टरदेखि व्यवसायीसमेत इच्छुक


  • धनकुटा खबर
  • .

बिर्तामोड, भदौ १६ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् ।

धेरै जनाले आफूहरुलाई भेटेर, फोन गरेर ती शिशुको अभिभावकत्व लिन चाहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । उनले अभिभावकत्व दिनैपर्ने अवस्था आए, पछि अप्ठ्यारो नपर्नेगरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिने बताए ।

शिशु लिनका लागि पर्ने निवेदनलाई छानबिन गरी असल अभिभावकलाई मात्र जिम्मा दिइने उनको भनाइ छ । सन्तानविहीन व्यक्तिहरुले त्यस शिशुलाई अपनाउन खोजेका छन् । अभिभावकत्व दिनुभन्दा अगाडि भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै सात दिने सूचना निकालेको छ ।

उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन वा थप जानकारीका लागि भद्रपुर नगरपालिकाको बाल कल्याण अधिकारी जीवनकला राउतसँग सम्पर्क गर्नु हुन नगरपालिकाले शुक्रबार निकालेको सात दिने सूचनामा उल्लेख छ ।

गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा बेवारिसे अवस्थामा शिशु (छोरा) फेला परेका थिए ।

हालसम्म पहिचान नखुलेको शिशु अन्दाजी १२ देखि १४ दिनसम्मको जस्तो देखिने, हरियो रङको च्यादरमा सुताइएको, सेतो रङको पन्जा, टोपी, भेस्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेका थिए ।

मेची प्रादेशिक अस्पतालको स्वास्थ्य प्रतिवेदनअनुसार रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण स्वस्थ्य रहेको शिशु हाल मेची प्रादेशिक अस्पतालको पोषण गृहमा रहेको छ ।-झापाटुडे

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖