• Sunday 4th of October 2026

९ दिनअघि मेडिसिटी अस्पतालमा जन्मिएकी थिइन् बालेन दम्पतीकी छोरी


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाको गाडी शनिबार राति कोटेश्वर चोकमा प्रहरी चेकजाँचमा केही बेर रोकियो। गाडीमा मेयर बालेन शाह पत्नी सविना काफ्ले थिइन्।

नियमित चेकजाँचमा बसेको प्रहरीले बिदाको दिन चलाउने अनुमति लिए/नलिएको सोध्यो। अनुमति पत्र नभएको र गाडी मेयर शाहको भएपछि तत्कालै गाडी छोडिदिएको प्रहरीले बताएको छ। गाडीमा मेयरकी श्रीमती सविना काफ्ले रहेको पनि प्रहरीले बताएको छ।

गाडी छोडिएको केही समयपछि राति ९ बजेर२१ मिनेटमा मेयर बालेन शाहले फेसबुकमा एउटा उत्तेजक स्टाटस लेखे-

आजको लागि केही भएन,
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने
सिंहदरबारमा आगो लगाइदिन्छु।
याद राख चोर सरकार।

शाहले आफ्नी श्रीमती चढेको गाडी प्रहरीले नियमित चेकजाँचमा रोकेर सोधेको घटनालाई लिएर सिंहदरबार जलाउने धम्की दिएको समाचारहरू प्रकाशित भएपछि सर्वत्र चासो र टिप्पणी सुरू भयो।
त्यसको केही समयपछि बिहान ८ बजेर ८ मिनेटमा बालेन शाहनिकट फेसबुक पेज रूटिन अफ नेपाल बन्दले मेयर बालेनलाई पुत्री लाभ भएको भन्दै शुभकामना दियो। बच्चा कहिले जन्मिएको भन्ने कुरा भने सार्वजनिक गरेन।

त्यसपछि कतिपयले सुत्केरी व्यथाले च्यापेको मेयर शाह पत्नी सविना चढेको गाडी ट्राफिकले रोकेको भन्दै प्रहरीको आलोचना गरे। मिडियामाथि पनि एक पक्षीय सूचना प्रकाशित गरेको भन्दै प्रश्न गरे।

हामीले मेयर शाहको सचिवालयसँग बच्चा जन्मिएको हो कि होइन, हो भने कहिले जन्मिएको हो भनेर सोधीखोजी गर्‍यौं। सचिवालयले बच्चा जन्मिएको पुष्टि गरे पनि कहिले जन्मिएको भन्ने बताउन चाहेन।
हामीले यसबारे सोधखोज गरेपछि केही तथ्यहरू प्राप्त भएका छन्। सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालमा गत भदौ ८ गते शुक्रबार छोरीलाई जन्म दिएकी थिइन्। मेडिसिटी अस्पताल स्रोतका अनुसार आमाको स्वास्थ्य ठिक रहेकाले भदौ ११ गते सोमबार डिस्चार्ज गरेको थियो। बच्चाको स्वास्थ्य भने अझै सुधारका क्रममा रहेकाले नवजात शिशुहरूको उपचार गर्ने कक्ष ( एनआइसियू) मा राखिएको छ। बच्चालाई भेट्न काफ्ले अस्पताल आउजाउ गरिरहेको पनि थाहा भएको छ।

शनिबार राति सम्भवत: काफ्ले अस्पतालबाट उनको निवास सिनामंगल आउँदै गर्दा कोटेश्वरमा प्रहरीको नियमित चेकजाँचमा परेको हुनसक्छ।
यसरी नियमति चेकजाँचमा परेको र प्रहरीले सरकारी गाडीबारे सोधखोज गरेर केही मिनेटभित्र छोडेपछि मेयर बालेनले उक्त उत्तेजक स्टाटस लेखेको देखिन्छ।

ट्राफिक प्रहरी कार्यालयको उच्च स्रोतले नियमित चेकजाँचमा सोधपुछ गरेर एक मिनेटभित्र छोडेको दाबी गरेको छ।-अक्षर काका/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖