काठमाडौं– जारी एसिया कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र भारतबीचको खेल हुने श्रीलंकाको पल्लेकेले रंगशाला क्षेत्रमा अहिले वर्षा भइरहेको छ। पल्लेकेले रंगशाला रहेको क्यान्डी क्षेत्रमा सोमबार बिहानदेखि नै वर्षा भइरहेको एक्युवेदरले जनाएको छ।
क्यान्डी क्षेत्रको आकाश बादलले ढाकेको छ। नेपाल र भारतको म्याच सुरु हुने समय, सोमबार अपराह्न ३:१५ बजेतिर वर्षा हुने सम्भावना ८० प्रतिशत छ।
भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ। प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ अंक बाँडेको थियो। पल्लेकेले रंगशाला नै भएको भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए।
नेपालले भारतको यु–१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। करिब २ महिना अगाडि मात्रै एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको टीम ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल भारतको टीम ‘ए’सँग ९ विकेटले पराजित भएको थियो।
वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ। अंक बाँड्नु परेको अवस्थामा भारत स्वत: सुपर–फोरमा पुग्नेछ।
यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ। पाकिस्तान ३ अंकसहित सुपर–फोरमा पुगिसकेको छ। भारत एक अंकसहित दोस्रो नम्बरमा छ।
