• Sunday 4th of October 2026

एमालेमा फर्किने बारे यसो भन्छन् झलनाथ


  • धनकुटा खबर
  • .

काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले देशलाई आमूल रुपान्तरण गर्नुपर्छ, समाजवाद ल्याउनु पर्छ र सारा जनतालाई शोसन दमनबाट उन्मुक्ति दिलाउनुपर्छ भन्नेहरु एमालेमा जान नसक्ने बताएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही मान्छेहरु ओहदा, सुविधा, पद आदिको लोभमा एमालेमा गएपनि जनताको बहुदलीय जनवाद (जबज) को लक्ष्य बोक्दासम्म समाजवादको लक्ष्य लिएकाहरु एमालेमा फर्किन नसक्ने बताए ।

‘केपी शर्मा ओलीको भनाई अब झलनाथ खनाल पनि एमालेमा फर्कँदै हुनुहुन्छ । तपाईँ एमालेमा जाने हो ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘यो विनावित्थाको मान्छेहरुले भ्रम फैलाउनका लागि गरेको प्रचारबाजी हो । नेकपा (एमाले) ले अहिले जुन प्रकरको लक्ष्य लिएको छ जबज भन्ने । जनताको बहुदलीय जनवाद भन्ने पुँजीवादी पुँजीवादी लोकतन्त्र, पुँजीवादी जनवादबाहेक अरु केही पनि होईन । त्यो लक्ष्यलाई एमालेले छोडेर जबसम्म समाजवादलाई लक्ष्य बनाउन सक्दैन, वैज्ञानिक जनवादलाई लक्ष्य बनाउन सक्दैन । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो भन्ने अनि फेरि पुँजीवादी लक्ष्यलाई नै अगाडि सारिरहेको पार्टीतर्फ अब कोही पनि जानेवाला छैन ।’

एमालेबाट विद्रोह गर्दा क्रान्तिकारी अडान र कार्यदिशा लिएर पार्टी अगाडि बढ्छ भन्ने आम जनता, नेता कार्यकर्ताको अपेक्षा भएपनि बीचमा कतिपय नीति निर्णयका कारण कार्यकर्ताहरुको दाँतमा ढुंगा लाग्ने काम भएको उनको दाबी छ । उनले कतिपय नेता/कार्यकर्तामा नेतृत्वको निर्णयका कारण निराशा देखिएको बताए । त्यही कारणले अब आफूहरु सबैलाई सच्याएर अगाडि बढ्न लागेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖