• Sunday 4th of October 2026

गृहमन्त्री श्रेष्ठलाई हटाउने सोचेको पनि छैन्, उहाँ र मेरो केमेष्ट्री मिलेको छ : प्रधानमन्त्री दाहाल


  • धनकुटा खबर
  • .

काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनेबारे आफूले नसोचेको र बाहिर आएको कुरा हल्लामात्रै भएको स्पष्ट पारेका छन् । पछिल्लो समय गृहमन्त्री श्रेष्ठलाई हटाउनेबारे समाचार आएपछि प्रधानमन्त्री दाहालले यस्तो स्पष्ट पारेका हुन् ।

रिपोर्टर्स नेपाल डटकमसँगको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले गृहमन्त्री श्रेष्ठले राम्रो काम गरिरहेको दाबी गरे । भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा आफूहरुले कडाईका साथ कदम चालेको उनको भनाई थियो । उनले भने,‘म गृहमन्त्री परिवर्तन गर्ने पक्षमा छैन् । मेरो र उहाँको काम गर्ने केमेष्ट्री मिलेको छ । अहिले सुशासन नेपाली जनताको माग हो । म यो पूरा गरेर छाड्छु । विकास र समृद्धिको यात्रा अब अघि बढ्यो ।’

प्रधानमन्त्री दाहालले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने पनि दाबी गरे । उनले भने,‘यो गठबन्धन पाँचै वर्ष जान्छ । कांग्रेस सभापति देउवाजीसँग राम्रो सम्बन्ध छ । कांग्रेससँगको सहकार्यको यात्रा टुट्दैन् । अझ सम्बन्ध बलियो भएको छ।’ उनले अब विकास गरेर तिव्र गतिमा देशलाई समृद्ध बनाईने पनि विश्वास दिलाए । उनले भ्रष्टाचारलाई निर्मुल पार्नको लागि आफू निर्मम ढंगले पेश भएको जिकिर गरे । भ्रष्टाचारमा पार्टीभित्र र बाहिरका जो मुछिएको पुष्टि भएपनि कारबाही गरेरै छाड्ने उनको उद्घोष थियो । उनले थपे–‘सुशासन पहिलो शर्त हो । यसमा मेरो कसैसँग पनि सम्झौता हुँदैन । पार्टीभित्र र बाहिर, जो कोही शक्तिशाली मान्छे परेपनि म सम्झौता गर्दिनँ ।’

सो क्रममा उनले आफ्नो हालैको भारत भ्रमणको ऐतिहासिक उपलब्धि हाँसिल भैसकेको भन्दै भारत सरकारले हालै नेपालबाट दश वर्षभित्र १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको कुरा स्मरण गराए । उनले अहिलेको सरकारले सवै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गरेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖