• Monday 5th of October 2026

यि हुन् तीन महिना कुरेर जहाजमा काठमाडौं जाने एक्ला यात्रु


  • धनकुटा खबर
  • .

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङदेवाका रामबहादुर लावुङ लिम्बुले जेठ २९ सोमबारका लागि काठमाडौं जान नेपाल वायुसेवा निगमको कार्यालयबाट टिकट लिए । जेठ २६ सम्म आएको विमान उनले यात्रा गर्ने दिन खराब मौसमका कारण स्थगित भयो । गाडीमा यात्रा गर्न कठिन हुने, वाकवाकी लाग्ने भएकाले विमानमै यात्रा गर्न बाध्य उनी उडान तालिका भएको तीन पटकसम्म घरबाट सुकेटार विमानस्थल धाए ।जहाज लगातार रद्द भएपछि निगमका कर्मचारीलाई उनले ‘काठमाडौंबाट जहाज उड्ने निश्चित भए पछि खबर गर्नु, झोला तयार पारेको हुन्छु, मोटरसाइकलमा आउँछु’ भने र प्रतीक्षामा बसे । उनले झण्डै तीन महिना पर्खनु पर्‍यो । सोमबार बिहानको उडानमा बल्ल काठमाडौं पुगे ।

संयोग तीन महिनापछि विमानमा काठमाडौं जाने उनी एक्लो यात्रु बने । ‘ब्यालेन्स मिलाउनु पर्ने भएर होला बीचैमा बसाएर ल्याए,’ लावुङले टेलिफोनमा भने । तीन महिना पर्खदा एक हजार फाइदा भएको उनले बताए । ‘टिकट काट्ता ९ हजार ४ सय दिएको थिएँ । अहिले भाडा ८ हजार ४ सय भएछ, एक हजार रुपैयाँ फिर्ता पाएँ‚’ उनले भने ।

निगमका निमित्त स्टेशन इञ्चार्ज सचिन तिवारीका अनुसार सोमबारका लागि अरु चार जनाले पनि सम्पर्क गरेका थिए । तर विमान आउने विश्वास नभएर बिहानको गाडीमा भद्रपुर गए । ताप्लेजुङमा जहाज नचले अधिकांश यात्रु भद्रपुर पुगेर विमानबाट काठमाडौं पुग्छन् । ताप्लेजुङबाट भद्रपुर पुग्न कम्तिमा आठ घण्टा गाडीमा यात्रा गर्नुपर्छ । कतिपय गाडीबाटै काठमाडौं जान्छन् । सोमबार काठमाडौंबाट भने सात जना यात्रु आएको तिवारीले बताए ।

२०३१ सालमा निर्माण भएको सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सले २०३३ सालदेखि उडान गर्दै आएको छ । यहाँ साना जहाजमात्रै उडान अवतरण हुन्छन् । सीतालगायतका निजी कम्पनीले पनि पर्यटक सिजनमा उडान गर्छन् । निगमले अहिले सोमबार, बिहीबार र शनिबार गरी तीन उडान तालिका राखेको छ । सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार निजी वायुसेवा कम्पनी सीता एयरले सोमबार र शनिबार गरी सातामा दुईवटा उडान तालिका राखेको छ । तालिका रहे पनि चैतपछि विमान नआएको सुकेटार विमानस्थलले जनाएको छ । सीताका सम्पर्क व्यक्ति पाशाङ शेर्पा खराब मौसम र यात्रु नभएका कारण उडान हुन नसकेको बताउँछन् ।

तमोर र कावेली नदीको सिधा विमानस्थल भएकाले कुहिरोले अवरोध गरिरहने एटीसी राजवंशी बताउँछन् । ८ सय ५० मिटरको कालोपत्रे धावनमार्गको पश्चिमदक्षिण दिशाबाट मात्रै जहाज अवतरण हुँदै आएको छ । ‘अहिलेसम्म एकतर्फी अवतरण भइरहेको छ,’ उनले भने,‘त्यही क्षेत्रमा कुहिरो लाग्दा बर्खाको समय अवतरणमा समस्या हुन्छ ।’ असार, साउन र भदौमा अघिल्ला वर्ष पनि कम उडान हुने गरेको उनले बताए । त्यसपछि मौसम खुल्दा नियमित जस्तै देखिने उनको भनाइ छ । ‘काठमाडौंबाट उड्दा विमानस्थल क्लियर हुने जहाज आइपुग्दा कुहिरोले ढाकिने समस्या पनि हुने गरेको छ‚’ उनले थपे ।

निगमको ताप्लेजुङ-काठमाडौं भाडादर ८ हजार ४ सय र काठमाडौं-ताप्लेजुङ ८ हजार ६ सय रहेको कार्यालयले जनाएको छ । यसअघि ताप्लेजुङ-काठमाडौं ९ हजार ४ सय र काठमाडौं–ताप्लेजुङ ९ हजार ६ सय थियो ।

काठमाडौं–ताप्लेजुङ उडान अवधि एक घण्टाको हुन्छ । काठमाडौंबाट इन्धन भरेर आउनुपर्ने भएकाले १३ र फर्कदा १५ यात्रु निगमको जहाजले ओसार्ने गरेको छ भने निजी कम्पनीका जहाजले १८ जनासम्म ओसार्छ ।

बिरामी, असक्त, गाडीमा यात्रा गर्दा कठिन हुनेले विमानमा यात्रा गर्नुपर्ने बाध्यता छ । हावाका कारण मध्यान्हपछि भने कमै जहाज अवतरण भएको विमानस्थलले जनाएको छ । विमानस्थल सदरमुकाम फुङलिङबाट ८ किलोमिटर दुरीमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖