युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी-२० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रूपमा अफ्रिकी संघ थपिएको हो ।
जी-२० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघको प्रतिनिधत्व गरिरहेका संघङ्घका अध्यक्ष अजाली असुमानीलाई जी-२० को स्थायी सदस्यका रूपमा समूहका नेताहरूसँगै आसन ग्रहण गर्न आग्रह गरेका हुन् । ‘सबैको स्वीकृतिमा अफ्रिकी संघका प्रमुखलाई जी-२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री मोदीले आफ्नो स्वागत मन्तव्यका क्रममा भने ।
प्रधानमन्त्री मोदीको अनुरोधसँगै विदेश मन्त्री एस जयशङ्करले युनियन अफ कोमोरोसका अध्यक्ष एवं अफ्रिकी सङ्घका अध्यक्ष असुमानीलाई विश्व नेताहरूका स्थानमा लिएर गएका थिए । जी-२० को सदस्यका रूपमा अफ्रिकी संघलाई समावेश गर्नु भारतको उद्देश्य थियो जुन आज पूरा भएको छ ।
प्रधानमन्त्री मोदीले नै अफ्रिकी सङ्घलाई समूहमाा ल्याउन प्रस्ताव गगरेका थिए । प्रधानमन्त्री मोदीले गत जुनमा जी २० का आफ्ना समकक्षीहरूलाई पत्र लेखेर नयाँदिल्ली शिखर सम्मेलनमा अफ्रिकी संघलाई पूर्ण सदस्यता प्रदान गर्न अनुरोध गरेका थिए ।
सन् २००२ मा शुरू भएको अफ्रिकी महादेशका ५५ देशको समूह अफ्रिकी संघलाई संघमा आवद्ध देशहरूको अनुरोधमा पूर्ण सदस्यता दिन प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए ।
