• Monday 5th of October 2026

ओली – यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन्


  • धनकुटा खबर
  • .

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाएका छन् ।

आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको टिप्पणी गरे ।

‘मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ?’ उनले प्रश्न गरे, ‘५/६ जनाले किनिसकेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, धनीपूर्जा भएको मान्छेसँग किन्यो त ।’

व्यवसायी गुरुङ भागेर कहीँ जाने सम्भावना नभएको भन्दै ओलीले सरकारले राष्ट्रिय पुँजीपतिलाई दुःख दिने हिसाबले मात्र पक्राउ गरेको आरोप लगाए । ‘भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने त्यो गुरुङ यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न सकेन । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो’, उनले भने ।

यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको ओलीले टिप्पणी गरे । ‘यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो मान्छे अहिले हवाइजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटल पनि चलाएको छ, हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’

सरकारको यस्तो रबैयाका विरुद्ध बोल्नेहरुलाई दुख दिने गरेको पनि ओलीले बताए । सरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई ओलीले दलाल पुँजीपतिको फण्डा र तमासा भएको जिकिर गरे ।

‘यो दलाल पुँजीपतिहरुको तमासा हो, पोलिटिकल स्टन्ट, दलाल पुँजीवादीहरुको फण्डा हो, त्यसकारण त्यसका पछाडि कोही छन् भने दलाल पुँजीवादीहरु छन् । यिनको टुप्पी दलाल पुँजीवादीहरुको हातमा छ’, उनले भने । ।कोरोना महामारीले पनि बिगार्न नसकेको नेपालको अर्थतन्त्र अहिलेको गठबन्धन सरकारका कारण बिग्रेको ओलीले टिप्पणी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖