एजेन्सी । जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत पुगेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अझै दिल्लीमै फसेका छन् ।
वास्तवमा उनको विमानमा प्राविधिक गडबडीका कारण पहिले नै तय गरिएको योजनाअनुसार आइतबार क्यानडा फर्किन सकेनन् ।
क्यानडाली प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘क्यानडाली सेनाले ट्रुडोको फिर्ती सुरक्षित गर्ने काम गरिरहेको छ, तर छिटो गर्दा पनि उनले मङ्गलवार दिउँसो मात्रै नयाँ दिल्ली छोड्न सक्नुहुन्छ ।’
जी–२० शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तनावपूर्ण भेटपछि ट्रुडो आइतबार क्यानडा फर्कने कार्यक्रम थियो ।
उनका अधिकारीले भने, ‘उनको विमान अहिलेसम्म बिग्रिएको छ ।’
बीबीसीलाई पठाइएको एक विज्ञप्तिमा, क्यानडाको राष्ट्रिय रक्षा विभागले रोयल क्यानेडियन एयर फोर्स (आरसीएएफ) सीसी–१५० पोलारिस टेल नम्बर ‘०१’ भएको पहिलो विमानमा समस्या आएको र त्यसलाई फेर्नुपर्ने पुष्टि गरेको छ ।
‘सबै यात्रुहरूको सुरक्षा आरसीएएफका लागि महत्त्वपूर्ण छ, सुरक्षा जाँचहरू हाम्रा सबै उडान प्रोटोकलहरूको नियमित हिस्सा हो,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ट्रुडोलाई फिर्ता ल्याउन भारत पठाइएको दोस्रो विमान बेलायततर्फ डाइभर्ट गरिएको बताइएको छ । त्यो मङ्गलवार भारत पुग्नेछन् र त्यसपछि ट्रुडो आफ्नो टोलीसहित त्यहाँबाट प्रस्थान गर्नेछन् ।
