एकजना गाउँपालिका अध्यक्षको सुझबुझले एकजना सुत्केरी महिला र बच्चाको ज्यान बचेको छ ।
अध्यक्ष सूर्यप्रसाद गुरुङको सुझबुझका कारण क्व्होलासोथार गाउँपालिका २, शैलुङ गाउँकी फूलमाया भनिने ठगीमाया मगर र उनको बच्चाको ज्यान बचेको हो । अध्यक्ष गुरुङ स्वयंले आफू चढेको सवारी साधनमा भदौ २३ गते गर्भवती मगरको उद्दार गरी अस्पताल पु¥याउनुभएको थियो ।
मगरलाई सुत्केरी व्यथा लागेकोमा गाउँमा प्रसुति हुनसक्ने अवस्था थिएन । परिवारको आर्थिक अवस्था कमजोर भएकाले गाडी रिजर्भ गरेर अस्पतालसम्म लाने अवस्था पनि थिएन । सदरमुकाम बेसीशहरमा एम्बुलेन्स रहे पनि गाउँमा जान नमान्ने, माने पनि धेरै समय लाग्ने समस्या भएकाले एम्बुलेन्सलाई खबर पनि गरिएको थिएन ।
सुत्केरी व्यथाले च्यापेर छटपटिएकी मगरलाई तत्काल अस्पताल लैजानु पर्ने अवस्थाबारे शैलुङ सामुदायिक स्वास्थ्य इकाईका प्रमुख दिनेश विश्वकर्माले गाउँपालिका अध्यक्ष गुरुङलाई गराउनुभयो । खबर पाउनेवित्तिकै अध्यक्ष गुरूङ आफूले चढ्ने गाडी लिएर मगरको घर पुग्नुभयो । उहाँलाई स्ट्रेचरमा राखेर घरबाट थोरै माथिसम्म पुगेको गाडीसम्म ल्याइयो । त्यही गाडीमा राखेर उहाँलाई अध्यक्ष गुरुङ, स्वास्थ्य इकाईका कर्मचारी सीता मगरसहितले बेंसीशहरस्थित जिल्ला अस्पताल पु¥याइएको गाउँपालिका अध्यक्ष गुरुङका स्वकीय सचिव गोपाल गुरुङले बताउनुभयो ।
भदौ २३ गते अपरान्ह सवा ४ बजेतिर मगरलाई अस्पताल पु¥याइएकोमा ५ बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई अस्पतालमा सुरक्षित रूपमा ल्याएर बिरामीलाइ भर्ना गर्नुका साथै आवश्यक बन्दोबस्त मिलाएर अध्यक्ष गुरुङ फर्किनुभएको थियो । मगरले साँझ सवा ७ बजे छोरी जन्माउनुभयो । अस्पतालका अनुसार मगर र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ । ढिलो भएमा जे पनि हुन सक्थ्यो ।
