• Monday 5th of October 2026

मेसीका ‘डाइहार्ट’ फ्यान नेम्वाङ, मध्यरातसम्म हेर्थे फूटबल


  • धनकुटा खबर
  • .

गएराति निधन भएका एमाले उपाध्यक्ष सुवास नेम्वाङ अर्जेन्टिनी फूटबलर लियोनल मेसीको ‘डाइहार्ट फ्यान थिए ।

सन् २०१० देखि मेसीको फ्यान भएको उनी बताउँथे । २०१० को विश्वकपको क्वार्टरफाइनलमा मेसीसहितको अर्जेन्टिना जर्मनीसँग ४–० को अन्तरले नमज्जाले पराजित भएको थियो । सो विश्वकपमा मेसीले राम्रो खेले पनि उनी अभागी साबित भए । त्यसपछि माया लागेर आफू मेसीको पक्षमा बढी नै लागेको नेम्वाङ बताउने गर्थे ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यसपछि फेरि २०१५ को कोपा अमेरिकाको फाइनलमा पनि घरेलु टोली चिलीसँग अर्जेन्टिना पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यो बेला आफूलाई नमज्जा लागेको उनी बताउने गर्थे ।

सन् २०१६ को कोपा अमेरिका मेसीका लागि झनै स्तब्ध बनाउने प्रतियोगिता भयो । फेरि अर्जेन्टिना पेनाल्टी सुटआउटमै चिलीसँगै पराजित भयो । जहाँ कप्तान मेसीले आफैँ पेनाल्टी मिस गरे । यसबाट मर्माहत भएका उनले राष्ट्रिय टोलीबाटै सन्यास लिने घोषणा गरे । धेरै प्रयास गर्दा पनि देशका लागि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेपछि मेसीले हार खाएका थिए । मेसीको यो अवस्था देख्दा यता आफ्नो मुड ३–४ दिसम्म खराब भएको नेम्वाङले बताएका थिए । यद्यपि, सबैले जोडबल गरेपछि मेसी फेरि राष्ट्रिय टोलीमा फर्के ।

जब सन् २०२१ मा मेसीले कोपा अमेरिकाको रुपमा देशका लागि पहिलो उपाधि जिते । उनी नेतृत्वको अर्जेन्टिनाले प्रमुख प्रतिद्वन्द्वी ब्राजिललाई उसकै मैदानमा हराएर उपाधि जित्यो, यता नेम्वाङको सुसीको सीमा रहेन । मेसीको अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेकोमा आफू अत्यधिक खुसी भएको नेम्वाङले प्रतिक्रिया दिएका थिए ।

‘म त अत्याधिक खुसी छु, बल्ल मेस्सीले न्याय पाएका छन् । कोपा अमेरिका बेस्ट प्लेयर र हाइ स्कोरर भएर पनि उपाधि जित्न सकेका थिएनन्, धेरै वर्ष पछाडि मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ,’ उनले लोकान्तरसँग भनेका थिए ।

त्यसपछि मेसीको अर्जेन्टिनाको गति रोकिएन । सन् २०२२ को जुन १ मा युरोकप विजेता इटालीमाथि ३–० को शानदार जित निकाल्दै अर्जेन्टिनाले फाइनलिसिमाको उपाधि जित्यो । दक्षिण अमेरिकी र युरोपको च्याम्पियनबीचको यो खेल मेसीको अर्जेन्टिनाले बाजी मारेको थियो । यता, नेम्वाङलाई अर्को खुसी मिल्यो ।

सन् २०२२ को डिसेम्बर १८ मा मेसी नेतृत्वको अर्जेन्टिनाले फूटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विश्वकपको उपाधि जित्योे । कतारको दोहामा भएको फाइनलमा अर्जेन्टिनाले ३–३ गोलको बराबरीपछि खेल पेनाल्टी सुटआउटमा जितेको थियो । यता, नेम्वाङले सामाजिक सञ्जालमार्फत खुसी मनाएका थिए । अब मेसी पूर्ण भएको बताएका थिए ।

नेम्वाङ इलाम क्याम्पस पढ्दा आफू पनि फूटबल खेल्थे । उनी कलेजको टिमको कप्तान थिए । त्यो बेलादेखि नै फूटबल पछ्याउने गरेका नेम्वाङ क्लब फूटबल पनि हेर्थे । शुरूमा उनी मेसीआबद्ध स्पेनिस क्लब बार्सिलोनाका समर्थक थिए । मेसीकै खेल हेर्न उनी राति २–३ बजेसम्म जागा बस्थे । बार्सिलोनामा मेसीले ४ च्याम्पियन्स लिग र १० वटा ला लिगासँगै प्रायः सबै उपाधि जिते । नेम्वाङ यसका पनि साक्षी बने ।

मेसी सन् २०२१ मा बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । नेम्वाङ पनि पीएसजीकै समर्थनमा लागेका थिए । मेसीको खेल आउने राति उनी हातमा रिमोट लिएर बस्ने गर्थे ।

मेसी यसै वर्ष अमेरिकी क्लब इन्टर मायमी गएका छन् । योसँगै मेसी र फूटबल बारेका सनातिना सबै विषयमा नेम्वाङ अपडेट थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖