• Sunday 4th of October 2026

ब्लड ग्रुपअनुसार मुटु राेगकाे जाेखिम : कुन ग्रुपलाई बढी जाेखिम ?


  • धनकुटा खबर
  • .

पछिल्लो समय मुटु रोग र यसका कारण मृत्यु हुने घटना बढ्दाे छ । पछिल्लो समयमा ४० वर्ष मुनिका व्यक्तिमा अचानक हृदयाघातका कारण मृत्यु हुनेको संख्या बढिरहेकाे छ । युवाहरुमा मुटु रोग बढ्नुको प्रमुख कारण जीवनशैलीमा गडबडी र खानपानसँग सम्बन्धित समस्या रहेको चिकित्सकहरु बताउँछन् ।

मुटुलाई स्वस्थ राख्न सबैले निरन्तर प्रयास गर्नुपर्छ । अनुसन्धानकर्ताहरूले दिनचर्या सही बनाउँदै नियमित शारिरीक तन्दरूस्तीलाई ध्यान दिएमा मुटुसम्बन्धी रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न सहयाेग पुग्ने पत्ता लगाएका छन् । यसका अलावा केही व्यक्तिमा स्वाभाविकरूपमा मुटुसम्बन्धी रोगको जोखिम कम हुन्छ, यसमा ब्लड ग्रुपको पनि विशेष भूमिका हुने अनुसन्धानकर्ताकाे भनाइ छ ।

अध्ययनले पत्ता लगाएअनुसार रक्त समूह ओ भएका मानिसहरूलाई कोरोनरी हृदय रोगको कम जोखिम हुन्छ। अनुसन्धानकर्ताको टोलीले ओ ब्लड ग्रुप भएका व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम कम देखिएको बताएको छ । यस्तो किन हुन्छ भन्ने विषयमा विज्ञहरुको फरक मत छ । अन्वेषकहरू भन्छन् कि रगत समूह ओको तुलनामा, अन्य समूहका मानिसहरूमा उच्च कोलेस्ट्रोल र उच्च मात्रामा प्रोटिन हुने सम्भावना हुन्छ । जसले रगत जम्न सक्छ। ओ ब्लड ग्रुप भएका व्यक्तिहरूमा यस प्रकारको जोखिम कम पाइन्छ, जुन उनीहरूलाई बढी सुरक्षित राख्नुको कारण हुनसक्छ।

अध्ययनले के फेला पार्यो ?
आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस र भास्कुलर बायोलोजी जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले ६२,००० महिला र २७,००० पुरुषको तथ्यांक अध्ययन गरेका थिए। यस तथ्यांक अध्ययनले रक्त समूह एबी भएका सहभागीहरूलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना अरूको तुलनामा २३ प्रतिशत बढी रहेको पाइएको छ। अर्कोतर्फ, बी टाइपका व्यक्तिहरूमा यो जोखिम ११ प्रतिशत बढी देखिएको थियो।

पेरिसमा भएको एक बैठकमा १,००,००० भन्दा बढी बिरामीहरूको तथ्यांक प्रस्तुत गर्ने अन्वेषकहरूले देखाउँछन् कि टाइप ओ रगत भएका व्यक्तिहरूमा ए, बी वा एबी रगत भएकाहरूको तुलनामा गम्भीर हृदय रोगको जोखिम कम हुन्छ।

के भन्छन् अनुसन्धानकर्ता ?
अध्ययनको निष्कर्षमा अन्वेषकहरूले अहिले ओ ब्लड ग्रुप भएका मानिसलाई सुरक्षित मानिने तर किन यस्तो हुन्छ भन्नेबारे कुनै स्पष्ट प्रमाण नभएको बताए । मानिसले आफ्नो रक्त समूह परिवर्तन गर्न सक्दैन, तर दिनचर्या परिवर्तन गरेर हृदय रोगको जोखिम अवश्य कम गर्न सकिन्छ। यसका लागि धुम्रपानबाट टाढा रहनु, नियमित व्यायाम र स्वस्थ आहार मूल मन्त्र हो । यी तीन कुरालाई ध्यानमा राख्दा मुटु रोगको जोखिम कम गर्न सकिन्छ । युवाहरूमा पनि यो जोखिम बढ्दै गएकाले मुटुको स्वास्थ्यप्रति सबैले गम्भीर हुन जरुरी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖