• Sunday 4th of October 2026

कलाकार किरण केसी भन्छन् : बुबा बित्दा आर्यघाटमा रुन नपाउने अभागी हो म


  • धनकुटा खबर
  • .

किरण केसी ।
मलाई लाग्छ, सबैका बुवा एक आदर्श पात्र हुन् । मेरो पथप्रदर्शक, मेरो प्रगतिको कारक, मेरो आइडल, मेरो सर्वश्व, मेरो पृथ्वी, मेरो ब्रह्माण्ड सबै थोक हो बुवा ।

EN

# सुवास नेम्वाङ # सुन तस्करी प्रकरण # सुवासचन्द्र नेम्वाङ # एकीकृत समाजवादी # पक्राउ # नाडा अटो शो # विद्यालय शिक्षा विधेयक # बागमती प्रदेश
logo
किरण केसी ।
मलाई लाग्छ, सबैका बुवा एक आदर्श पात्र हुन् । मेरो पथप्रदर्शक, मेरो प्रगतिको कारक, मेरो आइडल, मेरो सर्वश्व, मेरो पृथ्वी, मेरो ब्रह्माण्ड सबै थोक हो बुवा ।

मेरो बुवा लेफ्टिनेन्ट कर्नेल ध्रुवबहादुर केसी अहिले यो संसारमा हुनुहुन्न । तर पनि उहाँलाई म हरेक दिन सम्झन्छु, पानी चढाउँछु । मेरो लागि आजको यो बुवाको मुख हेर्ने दिन, सोह्र श्राद्ध र बुवाको पुण्यतिथि विशेष लाग्छ ।

किनभने यो दिनमा म बुवाको अन्य समय भन्दा धेरै सम्झना गर्छु । घरको कौशीमा बसेर ‘ए बुवा भनेर’ भनेर चिच्याएर बोलाउँछु । त्यसो गर्दा आत्मसन्तुष्टि मिल्छ ।

बुवालाई वर्षको एकदिन मात्र सम्झने परम्परा मलाई त्यति ठिक लाग्दैन । किनभने हामीले अभिभावकलाई सधैँ सम्झनुपर्छ जस्तो लाग्छ । त्यसैले, घर भित्रको बैठक कोठामै मैले बुवाआमाको मूर्ति बनाएर राखेको छु ।

म हरेक दिनको सुरुवात उहाँहरूको मूर्तिमा फूल चढाएर, धूप बालेर गर्छु । हरेक दिन बुवाको तस्बिरको पैतालामा शिर राखेर ढोगेपछि मात्र मेरो दिनको सुरुवात हुन्छ । हरेक दिन उहाँको पूजा नगरी चिया, पानी केही खान्न ।

मेरो लागि बुवा टिचरदेखि युनिभर्सिटी सबै थोक हुनुहुन्थ्यो । उहाँ समाजमा साहसी, निडर र निर्भीक अनि समाजसेवीको रूपमा चिनिनु हुन्थ्यो ।

सानोमा बुवाको महत्त्व नबुझ्दा, दसैँमा नयाँ लुगा ल्याउँदा, टुरमा जाँदा पैसा दिने बेलामा पैसा लिँदा बुवा नभए यो गर्न पाउँदिन थिए भन्ने लाग्थ्यो । बुवाले स्कुलको फिस तिरेको देख्दा, मेरो हरेक आवश्यकता पुरा गरेको देख्दा सानैदेखि मलाई बुवाको महत्त्व महसुस भएको थियो ।

भारी बोकाएर जानुभयो

बुवा मेरो लागि आदर्श मात्र होइन, ‘डन’ पनि हो । उहाँसँग म सानैदेखि डराउँथे । उहाँ आर्मीको व्यक्ति भएकाले जंगी स्वभावको हुनुहुन्थ्यो ।

म सानोमा धेरै चकचके र गल्ती गरिरहने खालको थिएँ । त्यसैले, बारम्बार बुवाको कुटाई खान्थे ।

तर, उहाँ एकदमै माया गर्ने र व्यवहारिक पनि भएकोले उत्तिकै सम्मान पनि थियो । उहाँमा एक अनौठो कला पनि थियो । कसैलाई हात उठाउनु भन्दा पहिले व्यङ्ग्य गरेर थर्काउनु हुन्थ्यो । अहिले मेरो जीवनको ठुलो अभाव भनेकै बुवाको कमी हो ।

मैले त्यस्तै ३५/३६ वर्षको उमेर बुवाको छहारी गुमाएँ । वृद्धावस्थामा उहाँको धेरै सेवा गरेँ । नुहाउने, नङ काट्ने, दाह्री काट्नेदेखि खाना खुवाउनेसम्म गर्थे । मैले त्यसरी उहाँको सेवा गर्दा रुनु हुन्थ्यो ।

‘किन यसरी रोएको बुवा ?’ भनेर सोध्थे ।

‘जुन बेला जे खाए पनि हुन्थ्यो, त्यो समय अभावले खान पाइएन । अहिले अभाव छैन तर रोगले केही खान मिल्दैन,’ उहाँ भन्नुहुन्थ्यो ।

मेरो जीवनमा ठुलो बज्रपात भएको दिन बुवा बित्नु भएको दिन हो । त्यो समय त आकाश नै तल खसेजस्तो महसुस भयो । यो संसारै शून्य भएझैँ भयो ।

घरको सारा जिम्मेवारी बुवाले नै उठाउँदै आउनु भएकोले घर व्यवहार कसरी चलाउने, छोराछोरीको फिस कसरी तिर्ने, मेरो घरको आवश्यकता कसरी पुरा गर्ने भनेर स्तब्ध भएँ ।

आमाले मलाई निकै सम्झाउनु भयो । त्यो दिन बुवाले मलाई ठुलो भारी बोकाएर जानु भएको महसुस गरे ।

बुवा बित्दा रुन पाइनँ

बुवा बित्दा आर्यघाटमा रुन नपाउने अभागी हो म । त्यो समय मह सञ्चारको ‘१५ गते’ भन्ने सिरियल अभिनय गरेर म कल्लु पात्रको रूपमा हिट भैसकेको थिएँ । बजारमा हिँड्दा मलाई मानिसले चिन्न थालेका थिए । कल्लु भनेर जिस्क्याउँथे ।

बुवाको शव आर्यघाटमा जल्दै थियो । मेरो कपालदेखि आँखी भौँसम्म खौरिएको थियो । त्यो समय मानिसहरु कल्लु भन्दै मलाई हेरेर हाँसे ।

एकातिर मेरो बुवाको लास जलिरहेको थियो, अर्काेतिर मलाई चिन्ने दर्शक मलाई कल्लु भन्दै जिस्काउँदै हाँस्दै थिए । त्यो समय बुवाको निधनमा मैले धक फुकाएर रुन समेत पाइनँ ।

जब काजकिरिया सकियो, त्यसको केही दिनपछि दक्षिणकालीको डाँडामा गएर तीन घन्टा बुवा र उहाँसँगका पल सम्झेर रोएँ ।

म सानैदेखि छुकछुके, नपढ्ने, चल्ने, सामान किन्न पठायो भने नाफा खाने खालको थिएँ । त्यस्तो क्रियाकलाप बुवालाई मनपर्दैन थियो ।

घरको कान्छो छोरो भएकाले बुवाले मेरो नाममा नेपाल बैंकमा खाता खोलेर एक लाख रुपैया मुद्दतीमा राखिदिनु भएको थियो । त्यो उहाँले दिएको सबैभन्दा ठुलो गिफ्ट थियो । त्यो दिन मैले आफूलाई जिन्दगीको सबैभन्दा धनी महसुस गरेको थिएँ ।

विवाह, अमेरिकाको भिसा लागेको लगायत मेरो जीवनमा धेरै थरिका खुसी आयो । तर, एक लाख रुपैया मुद्दतीमा राखिदिनु भएको त्यो दिन मेरो जिन्दगीकै खुशीको उत्कर्ष थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖