• Monday 5th of October 2026

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एमाले नेताको मृत्यु


  • धनकुटा खबर
  • .

सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ। दुर्घटनामा ३ वर्षीया एक बालिकासहित तीनजना घाइते भएका छन्।

बिहीबार बागमती नगरपालिका- ८ गाजलीचोकमा एमालेका स्थानीय नेतासमेत रहेका कार्की सबार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय कार्की दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका- १ का ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये बालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

मृतक कार्की एमालेको बागमती नगर कमिटीका सचिवालय सदस्य हुन्।

दुर्घटनामा भएको कार्कीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको एमाले सर्लाही ३ नम्बर क्षेत्रका क्षेत्रीय समन्वय कमिटीका संयोजक चुडामणि वाग्लेले बताए।

कार्कीको शव पोष्टमार्टमपछि बिहीबारै बागमती नदीमा अन्त्यष्टि गरिएको छ। कार्कीका दई छोरी, एक छोरा, श्रीमती र आमा छन्।

कार्कीले हेल्मेट नलगाई मोटरसाइकल लिएर धानखेततिर जाँदा ग्रामीण सडकको मोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖