• Sunday 4th of October 2026

यी हुन् सुगर रोग लाग्नुका पाँच कारण


  • धनकुटा खबर
  • .

डा.सन्दिप चन्द्र श्रेष्ठ
थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ

सुगर रोग लाग्नुको पहिलो कारण वंशाणुगत हो। अध्ययनहरूले के देखाएको छ भने बाबु या आमामध्ये एक जनालाई सुगर छ भने छोराछोरीलाई सुगर हुने सम्भावना ४० प्रतिशतले बढी हुन्छ। जुम्ल्याहामध्ये एक जनालाई सुगर भयो भने अर्कोलाई भविष्यमा सुगर हुने सम्भावना ९० प्रतिशत हुन्छ। त्यसैले सुगर हुने पहिलो कारण वंशाणुगत नै हो।

दोस्रो कारण मोटोपना हो। मोटोपना जति बढ्यो शरीरमा बोसोको मात्रा बढ्दै जान्छ। मोटोपना बढ्दै गएपछि इन्सुलिन हर्मोनले जति काम गर्नु पर्ने हो, त्यति काम गर्न सक्दैन। त्यसैले सुगर रोग लाग्छ।

तेस्रो कारण खानपिन हो। गुलियो खाना खाएकै कारण सुगर रोग लाग्छ भन्नु भ्रम हो। शारीरिक सक्रियता राम्रो छ अनि परिवारमा कसैलाई सुगर छैन भने गुलियो खाना खाँदैमा सुगर हुँदैन। तर त्यो भन्दै गर्दा धेरै कार्बोहाइड्रेट र सुगर बढाउने खाना खाएमा मोटोपना बढ्दै जान्छ। जसले गर्दा सुगर पनि बढ्न जान्छ।

चौथो कारण भने बढी तौल भएको बच्चा जन्मिनु हो। कुनै पनि बच्चा जन्मिँदा ४ किलोभन्दा बढी छ अथवा ३७ हप्ताभित्र छिटो जन्मिएको छ भने त्यस्ता बच्चालाई भविष्यमा सुगर हुने सम्भावना धेरै हुन्छ।

पाँचौं कारण भनेको कतिपय औषधीको कारणले सुगर हुन्छ। स्टोरेड दबाइले सुगर हुने खतरा हुन्छ। यद्यपी यसलाई ठूलो कारण मानिँदैन। जुन दबाइ बाथको डाक्टरहरूले समेत दिन्छन्। धेरै दुखाइको बेलामा यो औषधीको प्रयोग हुन्छ। कोभिडको समयमा स्टोरेड हुने दबाइ धेरै प्रयोग भएको थियो। यस्तो औषधीले सुगर देखिएको थियो। कोलस्ट्रोलको औषधीले पनि सुगर हुने सम्भावना बढाउने पाइएको छ। यद्यपी यसलाई सुगर हुने ठूलो कारण मानिँदैन।

सुगरबाट जोगिन आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। ८ घण्टाको सुताइ पुग्नुपर्छ। आधा घण्टादेखि एक घण्टा व्यायामको लागि समय दिनुपर्छ। अलिकति पसिना आउने र मुटुको धड्कन तेज हुने गरी जे व्यायम गरे पनि हुन्छ। खानपनिमा ख्याल गर्नुपर्छ। बजारमा प्याक गरेको खानाहरू सकेसम्म खानु हुँदैन। सकेसम्म घरमै पाकेको खाना खानु पर्छ। घरमै खाना खाँदा समेत सन्तुलित रूपमा खानु पर्छ। खाना र तौल बाहेक परिवारमा सुगर भएकाहरूले समय\समयमा सुगरको परीक्षण गर्नु पर्छ।
सुगर रोग लाग्दैमा आत्तिनुपर्ने अवस्था छैन। सबैभन्दा पहिला सुगर रोग लागेपछि खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ। जीवनशैलीमा परिवर्तन, खानपिनमा नियन्त्रण, तौल घटाउने भन्ने हो। जस्तो ७० किलोको व्यक्तिले आफ्नो तौल १० प्रतिशत घटायो भने धेरै राम्रो हुन्छ। त्यसपछि पनि भएन भने औषधीको प्रयोग गर्ने हो।

अहिले औषधी ६ किसिमका पाइन्छ। त्योमध्ये सुगरबाहेक अरू समस्या छ कि छैन भनेर औषधी दिइन्छ। योसँगै समय\समयमा सुगरको परीक्षण गर्नुपर्छ।

(थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.सन्दिप चन्द्र श्रेष्ठ काठमाडौं मधुमेह र थाइराइड केन्द्रमा कार्यरत छन्।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖