काठमाडौँ । चार जनाको धारिलो हतियार प्रहर गरी हत्या भएपछि काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा सन्नाटा छाएको छ ।
तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो ।
GCI COLLEGE
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार हत्या गरिएका चार जनामध्ये तीन जना एकै परिवारका छन् ।
Shivam Cement
हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् ।
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ ।
उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले जानकारी दिए।
घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।-कृष्ण खड्का/रातोपाटी
