तस्कर समूहले तस्करी गरी ल्याउने सुनलाई माछा भन्ने गरेको समेत खुलेको छ । पक्राउ परेका आरोपित दावा छिरिङको मोबाइलको परीक्षण गर्दा फेला परेको एक अडियोमा ‘माछा काठमाडौँसम्म पुराएको कति दिन्छ त?’ भनी सोधेको पाइएको छ । त्यसको जवाफ के दिए भनेर परीक्षणमा फेला परेको छैन ।
प्रहरीले दावासँग बयान लिँदा माछा भनेको के हो भनी सोधेको थियो । त्यसको जवाफमा दावाले माछा भनेको ‘सी फूड’ हो भन्ने रमाइलो जवाफ दिएका छन् ।
यस्तो छ सवालजवाफ :
सवाल : तपाईंको मोबाइल परीक्षणको क्रममा प्राप्त भएको Audio 170.aud.silk मा भएको अडियो कुराकानी सुनाई सोधनी गरिन्छ की ‘दाइ यो माछा काठमाडौँसम्म पु¥याएको कति दिन्छ त ?’ भनी तपाईंलाई कसले सोधेको हो ? माछा भनेको के हो ? खुलाउनुहोस् ।
जवाफ : माछा भनेको सी फूड हो । कोही कसले मलाई सोधेको हो । हाल मलाई थाहा भएन ।
दावाको मोबाइल परीक्षणका क्रममा विभिन्न यस्ता शङ्कास्पद अडियो र कुराकानी भेटिएको पाइएको छ जसले सुन तस्करीमा दावाको संलग्नता र तस्कर समूहसँग दावाको निरन्तर कुराकानी भइरहेको पाइएको छ ।
दावाको मोबाइलमा भेटिएको एक अडियोमा एअरपोर्टमा दुईवटा एक्सरे मेसिनमा एक्सरे हुने रहेछ भनी कुराकानी भएको पाइएको छ र कुन फ्लाइटबाट सामान आउँदै हो, त्यसको डिटेल्स चाहियो भनी कसैले सोधेको भेटिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले त्यो कुराकानी को सँग कुन प्रयोजनमा भएको हो भनी सोध्दा दावाले कोभिडको औषधी चीनमा पठाउने विषयमा कुराकानी भएको अचम्मको बयान दिएका छन् । -मदन ढुङ्गाना/ratopati
