• Monday 5th of October 2026

गैरीगाउँ सामूहिक हत्या घटनामा प्रयोग भएको हतियार बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं— तीनकुने, गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
उनले भने, ‘खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर हानेको पाइएको छ ।’

गएराति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो । लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो ।

मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो । प्रहरीले राति घटनामा प्रयोग भएको हतियार बरामद गरेको थिएन ।

प्रहरीलाई घटनाबारे सूचना दिने २८ वर्षीय दीपेन्द्र राई आफैं अनुसन्धानको दायरामा परेका थिए ।

राति रगताम्ये भएको अवस्थामा मिलबाट बाहिर निस्किएर उनी ट्याक्सी चढेका थिए । ट्याक्सीका चालकलाई उनले प्रहरी कहाँ पुर्‍याइदिन भनेका थिए । प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर उनले आफ्नो साथीहरु मारिएको बताएका थिए । मदिराको नशा लागेको र शरीरभरि रगत लत्पतिएको अवस्थामा भेटेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

हाल उनी प्रहरी वृत्त, बानेश्वरको हिरासतमा छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖