• Monday 5th of October 2026

क्यालेन्डरमा लेखेको भए पनि छैन आज महिला कर्मचारीलाई बिदा


  • धनकुटा खबर
  • .

हिजो तीज पर्व मनाएका हिन्दु धर्मालम्बी महिलाहरु आज ऋषि पञ्चमी पर्व मनाउँदै छन्। हिन्दु धर्ममा आस्था राख्ने नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी यो पर्व मनाउने परंपरा छ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्छन्।

ऋषि पञ्चमी पर्वको अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ। यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने प्रचलन छ।

विगतका वर्षहरुमा सरकारले ऋषि पञ्चमी पर्वमा पनि तीजमा जस्तै महिला कर्मचारीलाई बिदा दिने गरेको थियो। तर, केही वर्षदेखि भने यस वर्षको बिदा सरकारले कटौती गरेको छ।

काठमाडौं महानगरपालिकाले पनि आफ्ना महिला कर्मचारीलाई ऋषि पञ्चमी पर्वको बिदा नरहेको भन्दै सूचना जारी गरेको छ।

महानगरले प्रकाशित गरेको २०८० सालको भित्ते पात्रोमा ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा दिने भनी उल्लेख गरेको थियो। तर, महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना जारी गर्दै आज महिला कर्मचारीलाई बिदा नरहेको जानकारी गराएकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖