• Monday 5th of October 2026

अहिले तत्काल कसैलाई कोरिया पठाउने सम्भावना छैन


  • धनकुटा खबर
  • .

इलाम । कोरिया जाने सपना बोकेर भौतारिरहेका इलामे युवाको सपना सपनानै बन्ने देखिएको छ । रोजगारीका लागि कोरियाको पानीजहाज कम्पनीमा जान पाइने आशामा इलाम सदरमुकाममा वेल्डिङको तालिम लिएका युवाको चाहाना तत्काल पुरा नहुने देखिएको हो ।

आज सदरमुकाममा पत्रकारहरु सँग कुराकानी गदै सदरमुकामको एसिई स्किल ट्रेनिङ सेन्टरका संचालक सुरेन्द्र राइले तत्काल कसैलाई कोरिया लान नसकिने बताए । उनले आफु सँग सिप सिकाउने अनुमतिमात्र रहेको र बिदेश पठाउने अनुमति प्राप्त संस्था नभएकाले बिदेश पठाउन नसक्ने बताएका हुन ।

तर उनले केही समय अघि कोरिया लाने सपना देखाउदै एसिई स्किल ट्रेनिङ सेन्टरमा तिन सय बढि युवालाई जनही ९१ हजार रुपैयाँ लिएर तीन महिनाको वेल्डिङ तालिम सञ्चालन गरेका थिए ।

तालिम सेन्टरले आफूहरूलाई इ–सेभेन भिसामार्फत् कोरिया लैजाने आश्वासन दिएपनि अहिलेसम्म टुङो नहुदाँ आफुहरु अन्योलमा परेको नाम नबताउने सर्तमा तालिम लिएका एक युवाले बताए ।

यता तालिम सेन्टरले युवालाई सुरुमा पाँचदेखि सात लाख रुपैयाँ खर्चिँदा कोरिया जान सकिने बताए पनि अहिले १६ लाख रुपैयाँसम्म लाग्ने भन्दै पैसा माग्न थालेको युवा बताउँछन् ।

उता तालिम केन्द्रका संचालक राईलाई के तपाइले कोरिया लैजाने नै भनेर तालिम संचालन गरेको हो त रु भन्ने पत्रकारले राखेको प्रश्नमा उनले भने,‘मैले वैदेशिक रोजगारीमा जान तालिम अनिवार्य हुन्छ भनेर युवालाई सिप सिकाएको हुँ,’ तर, म कोरिया वा अन्य कुनै वैदेशिक रोजगारीमा कामदार लैजाने आधिकारिक व्यक्ति भने होइन’ ।

यो भनाईले पनि के बुझन सकिन्छ भने कोरिया जान पाइने सपना बोकेका ती युवाको सपना अधुरै बन्ने देखिन्छ । यसैगरी यसअघि वेल्डिङ तालिम लिएका १७ जनाले भने जिल्ला प्रशासन कार्यालयमा इलाममा तालिम केन्द्रविरुद्ध उजुरी दिई रकमसमेत फिर्ता लगेका छन् । तालिम सेन्टरले उनीहरूलाई जनही एक लाख रुपैयाँ फर्काइदिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले भने इलामका युवालाई तालिम दिने एसिई स्किल ट्रेनिङ सेन्टर नै वैधानिक नभएको जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖