• Tuesday 6th of October 2026

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा


  • धनकुटा खबर
  • .

४ असोज, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

२३ देखि ३० सेप्टेम्बर सम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री माननीय नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् परराष्ट्रले जनाएको छ ।

साथै, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम रहेको छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् ।

यस्तै बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । साथै, प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन-नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछन् । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖