• Tuesday 6th of October 2026

कोशी प्रदेश सरकारमा सहमतिको प्रयास जारी छ : प्रवक्ता मेन्याङ्बो


  • धनकुटा खबर
  • .

खोटाङ, ४ असोज । कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएक छन्।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताए ।

“जनताले सबै दल मिलेर सरकार बनाऊ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री मेन्याङ्बोले भने।

उनले प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै वितृष्णा सिर्जना हुने अवस्था आएको समेत बताए । अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको उनको भनाइ छ । निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतिको विकल्प नभएको उनको भनाइ छ ।

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री मेन्याङ्बोले प्रदेश नामकरणका विषयमा असतुष्ट पहिचान पक्षलाई वार्तामा आउन आह्वान गरे । “प्रदेशको नाम सबै दलको समर्थनमा नामकरण भएको हो”, प्रदेश सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजक मेन्याङ्बोले भने, “असहमति राख्ने छुट सबैलाई छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।”

मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचारप्रसार गर्न आग्रह पनि गरे । “प्रदेश सरकारबाट सञ्चालित धेरै योजनाबारे जनतालाई जानकारी छैन । स्वास्थ्य, वन तथा वातारण, खानेपानी, सिञ्चाइँ, उर्जालगायतका क्षेत्रमा प्रदेश सरकारको ठूलो लगानी छ”, उनले भने, “सङ्घीयतालाई स्थायित्व दिन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश सरकारले गरेका हरेक क्रियाकलापका बारेमा खबरदारीपूर्ण तवरले कलम चलाउन सबै पत्रकारहरुलाई म आग्रह गर्दछु ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖