• Monday 5th of October 2026

मान्छे मारेर सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइकेलाई आममाफी, जेलबाटै तरुण दलको स्कर्टिङसहित स्वागत


  • धनकुटा खबर
  • .

नेपालगन्ज । व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् ।

जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष पठाएको हो ।

दाङस्थित घोराही कारागारमा सजाय भुक्तान गरिरहेका ढकाललाई संविधान दिवस पारेर छुटाइएको हो । सर्वस्वसहित जन्मकैद सजाय पाए पनि माफी पाएर छुटेका ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरू झन्डासहित पुगेका थिए ।

ढकाललाई दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेका थिए । ४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो ।

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा नेपालगञ्जका चर्चित गुन्डा नाइके रिगल भन्ने योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो ।

अभियुक्त ढकालले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो । घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो ।

त्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्न सोहनसिहं ढकाललाई १० वर्ष, प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जनही जन्मकैदको सजाय कायम गरेको थियो ।

यस्तै माधव नेपाली, बिराज पाठक, हरि ओली, मनिष चौलागाई, प्रितम थापा, यमबहादुर बुढामगर, केशवबहादुर रोकायालाई जनही ३ वर्षको सजाय सुनाइएको थियो ।

नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न भएका भनिएका रिगल भनिने योग ढकालले २०७२ भदौमा अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

ढकाल हत्यारा पुष्टि भएर जेल जानुअघिसम्म नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए ।- नेपाल प्रेस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖