• Tuesday 6th of October 2026

पूर्वमन्त्री भट्टको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


  • धनकुटा खबर
  • .

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सहयोद्धामा समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री मायालुको फोक्सोको क्यान्सरका कारण गएराति ७३ वर्षको उमेरमा निधन भएको थियो । २०७० सालमा उनी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा समाहित भइ केन्द्रीय सल्लाहकार बनेका थिए ।

यस्तै, माओवादी केन्द्रले केन्द्रीय सल्लाहकार भट्टको निधनको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको जनाएको छ । पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दिवङ्गत मायालुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

भट्टले डडेल्धुराबाट बर्दियाको दौलतपुरमा बसाइँ सरी नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उनी जेल परे ।

भट्टले आठ वर्षसम्म जेल जीवन बिताएका थिए । नख्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग उनको भेट भयो । जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई पनि थिए । तर, उनी रामराजा प्रसाद सिंहसँग प्रभावित भएका थिए ।

वि.सं २०३२ तिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा सक्रिय भए । त्यसै सन्दर्भमा सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो ।

भट्ट मोर्चाको महासचिव बने । गणतन्त्र स्थापनका लागि २०४२ सालमा बमकाण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो । तत्पश्चात् उनी गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताए । पञ्चायती शासकले उनलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो ।

वि.सं २०४६ को जनआन्दोलनबाट पुनर्स्थापित बहुदलीय व्यवस्थामा भट्ट पुनः नेपाली कांग्रेस प्रवेश गरे । २०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित भए । उनी २०५९ सालमा सामान्य प्रशासनमन्त्री बने । २०७० सालमा भट्ट एकीकृत नेकपा (माओवादी) मा समाहित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖