• Monday 5th of October 2026

मलेसियामा प्याकिङको काममा पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डौ – मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीको शिखर नगरपालिका २ घर भई अहिले काठमाण्डौको सेतो पुल बस्ने ३२ वर्षका धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए । मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए । तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए ।

रकम ठगेर फरार भएपछि कृष्णबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो । विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिने भन्दै ५० जनाबाट ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले झापाको गौरादह ४ का अमृत कार्की र अशोक कार्कीलाई काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि विभागको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖