• Monday 5th of October 2026

अलपत्र फेला परेको बच्चालाई प्रहरीले मृत भनी समाचार पठाएपछि…


  • धनकुटा खबर
  • .

धनगढी । अलपत्र अवस्था फेला परेको नाबालिकालाई प्रहरीले मृत भनि समाचार सम्प्रेषण गरेको पाइएको छ ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत केन्द्रीय प्रहरी समाचार कक्षले ‘दैनिक समाचार बुलेटिन’ सञ्चारमाध्यममा पठाउने गर्छ । शुक्रबार दिउँसो ३ बजे प्रेषित समाचारमा जिउँदो बालिकालाई मृत फेला भनेर प्रेषित गरेको पाइएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रेषित बुलेटिनको समाचारमा लेखिएको छ, ‘ कञ्चनपुर, बेलौरी नगरपालिका–७ सिंहपुरस्थित गन्नाबारीमा हाल नाम, थर, वतन नखुलेकी करिब १ वर्षीय बालिका शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’

उता कञ्चनपुरको बेलौरी प्रहरीले सो नाबालिकालाई आफन्तको जिम्मा लगाएको छ । बेलौरी नगरपालिका ७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले सो नाबालिकाको उद्धार गरेका थिए ।

सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो । उनलाई उद्धार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो । त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ । शिशुकी आमा शर्मिला चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शिशुलाई भने शर्मिलाकी आमा पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानासहितका जनप्रतिनिधि, दुवै नगरपालिकाका महिला विकास शाखाका संयोजक तथा स्थानीय कर्मचारी, पत्रकार लगायतको रोहबरमा प्रहरीले शिशुलाई अभिभावकको जिम्मा लगाएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖