• Monday 5th of October 2026

नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। बिहिबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई इटहरी ६ बाट र सङ्खुवासभाकै मकालु नगरपालिका ६ का अजय राईलाई इटहरी ३ बाट विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो।

आज शुक्रबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी एक हजार दरका १५ लाख ८७ हजार रुपियाँ सहित विवेक राई र अजय राईलाई सार्वजानिक गरेको छ। प्रहरीले उनीहरुको साथबाट नोकिया कम्पनीको सादा मोबाइल एक थान, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान पनि बरामद गरेको छ।

नियन्त्रणमा रहेका विवेक र अजय राईलाई थप अनुसन्धानको लागि आजै जिल्ला अदालत सुनसरीबाट मुद्रा सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। सुनसरीमा पछिल्लो समय नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय बनेकोे छ ।

एक महिना अगाडी सुनसरीको रामधुनी नगरपालिकाबाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले रामधुनी नगरपालिका वडा नम्वर १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖