कपिलबस्तुका पालिकाहरुले बड्का अटवारी पर्वको अवसरमा आईतबार बिदा दिएका छन् । सो अवसरमा जिल्लाको कपिलबस्तु नगरपालिका, शिवराज नगरपालिका, बाणगंगा नगरपालिका, शुद्धोधन गाँउपालिका, विजयनगर गाँउपालिकाले स्थानीय बिदा दिएका हुन् ।
कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा हुने भएको छ । सो दिन थारु समुदायले बड्का अटवारी र हिन्दु समुदायले बड्का आईतबार पर्व मनाउँछन् ।
कपिलबस्तु नगरपालिका ६ सगरहवाका हकिम थारुका अनुसार अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन छ । थारु समुदायको बसोबास रहेको कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
हिन्दु नारीहरुको हरितालिका तीज पछिको आइतबारलाई बड्की आइतबार भनेर मनाउने परम्परा छ । तर हरितालिका पछिको आइतबार पष्ठी परेमा बडकी आइतबार मनाइदैन र त्यसपछिको आइतबारलाई बड्की आइतवार पर्व मान्ने चलन छ ।
संस्कृतविद्का अनुसार स्वास्थ्य, दीर्घायु, सुखमय जीवनको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पुरुषले स्वास्थ्य सुखमय जीवनको लागि व्रत बस्ने गर्दछन् भने महिलाहरुले सन्तान प्राप्ति, श्रीमानको स्वास्थ्य दीर्घायू र राम्रो वरको लागि यो व्रत बस्ने चालन छ ।
यो पर्वमा विशेष गरेर गहुँको पिठोबाट बनेको विभिन्न प्रकारका रोटी मिठाई बनाएर खाने गरिन्छ । विवाहित छोरी, चेलीबेटी, ज्वाईलाई बोलाएर मिठा मिठा परिकार साथै उपहार दिएर यो पर्व मनाउने पराम्परा छ ।
