• Monday 5th of October 2026

आफूलाई देउता चढेको भन्दै गाउँभर खुकुरी प्रहार गर्दै हिँडेपछि…


  • धनकुटा खबर
  • .

दाङमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरा भन्ने स्थानमा स्थानीय टेकबहादुर मल्लले खुकुरी प्रहार गर्दा ४३ बर्षिया रिता लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

रितालाई खुकुरी प्रहार गरी हत्या गरेका टेकबहादुरले सोही गाउँकै वीर बहादुर हमाल र उनकी आमा चन्द्रकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते भएका हमालद्धयको तुलसीपुरमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी ठाकुर प्रसाद पोख्रेलका अनुसार टेकबहादुर घरबाट खुकुरी लिएर निस्केको र बाटोमा जसलाई भेट्यो उसैलाई खुकुरी प्रहार गरेका थिए।

घरमा बसिरहेकी स्थानीय ४३ वर्षीय रितालाई उनले सुरुमा भेटेका थिए। रितालाई उनकै घरमा खुकुरी हानेका थिए। रितालाई खुकुरी हानेका उनले अर्को घरमा बसिरहेका आमा छोरा वीर बहादुर र चन्द्रकुमारी हमाललाई पनि उनले खुकुरी हानेका थिए। लगत्तै प्रहरी पुगेपछि उनलाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको थियो।

उनले आफ्नो कुनै रिसिईबी नभएको र आफूलाई देउता चढेका कारण खुकुरी हानेको प्रहरी समक्ष बयान दिएका छन्।

‘उनले मेरो कुनै पनि रिसिईबी छैन, मलाई देउता चढे, अनि म खुकुरी लिएर घरबाट निस्केँ भनेर बयान दिएका छन्,’ डिएसपी पोख्रेलले भने ‘अनि उसले जसलाई देख्यो खुकुरी हानेको देखिन्छ, घटना बारे हामी थप अनुसन्धानमा छौँ।’-देबेन्द्र बस्नेत/नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖