• Sunday 4th of October 2026

यसरी कालीकोटमा मृत भेटिइन् संरक्षणमा राखिएकी महिला


  • धनकुटा खबर
  • .

कालीकोटमा एक महिला मृत फेला परेकी छन्।

सदरमुकाम मान्ममा गैरसरकारी संस्था सोसेकद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्रको संरक्षणमा राखिएकी सान्नीत्रिवेणी गाउँपालिका-१ लुसाकी २५ वर्षीया गीताकुमारी जैसी शाही मृत फेला परेकी हुन्।
उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। सेल्टरमै आइतबार बिहान ९ बजे उनी मृत भेटिएको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

घटनाबारे बिहानै थाहा भए पनि बेलुकामात्र आफन्त आएकाले मुचुल्का उठाउन थालिएको उनले बताए।

‘आफन्त भर्खरै आइपुग्नुभयो, अब मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढ्छ,’ उनले भने।

मृत भेटिएकी गीतालाई संरक्षण तथा मनोसामाजिक परामर्शका लागि भदौ २४ गतेदेखि सेल्टरमा राखिएको थियो। आइतबार बिहान शौचालयको ढोकामा झुन्डिएको अवस्थामा गीताको शव भेटिएको प्रहरीले जनाएको छ।
भदौ २२ गते उनी कालीकोटबाटै बेपत्ता भएकी थिइन्। माइती पक्षले घर परिवारले बेपत्ता बनाएको भन्दै आन्दोलनसमेत गरेका थिए।

उनी भदौ २३ गते नेपालगञ्जबाट सम्पर्कमा आएकी थिइन्। त्यसपछि पनि आफन्तले सुरक्षित नभएको भन्दै उनलाई लिन घरमा लिएका थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖