• Tuesday 6th of October 2026

यसरी जहाजमा माओवादी नेताहरूलाई चढाउनुपर्ने भएपछि डाक्टरहरू छुटे ताल्चामा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका छन्।

समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए।
त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन्।

चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।
माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।
टोलीमा डा विमल पाण्डे, डा व्यापक पौडेल, डा सुरज बज्रचार्य, डा गौरव ढकाललगायत छन्।

‘हामीले दुई हप्ताअघि नै आउनजाने (टु वे) को टिकट काटेका थियौं। हाम्रो १६ जनाको समूह रहेको छ। समूहमा आजै शल्यक्रिया गनुपर्ने बिरामीसमेत हुनुहुन्छ। पाँच जनालाई यहीँ छाड्ने बताएपछि हामी कोही पनि गएनौं। जहाजचाहिँ उडिसकेको छ,’ एक चिकित्सकले सेतोपाटीसँग भने।

यसबारे हामीले चिकित्सकलाई टिकट मिलाइदिने नेपालगञ्ज विमानस्थलमा रहेका चक्र न्यौपानेसँग कुराकानी गरेका थियौं।

उनले पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही) लगायतबाट अनुरोध आएकाले केही चिकित्सकलाई सिट नपुगेको बताए।

‘पूर्व मुख्यमन्त्रीसहित नेताहरूको आजै दोलखा जानुपर्ने रहेछ। जरूरी पर्‍यो भनेपछि चिकित्सकको टोलीलाई भोलि ल्याउने भनेका हौं,’ उनले भने।
-सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖