• Tuesday 6th of October 2026

अध्ययनको निष्कर्ष : शरीरले महसुस गर्छ २७ प्रकारका प्रेम


  • धनकुटा खबर
  • .

शोधकर्ताहरुले मानव शरीरको एउटा यस्तो नक्सा बनाएका छन्, जसले प्रेमका फरक-फरक अनुभूति र त्यसको तीव्रतालाई देखाउँदछ ।

फिनल्याण्डको आल्टो विश्वविद्यालयका शोधकर्ताहरुले उक्त नक्सा तयार गर्नका लागि सयौं मानिसहरुमा गरिएको सर्भेक्षणका तथ्यांकको प्रयोग गरेका थिए ।

ती व्यक्तिहरुबाट २७ किसिमका प्रेमका अनुभवका बारेमा जानकारीहरु संकलन गरिएको थियो ।

उदाहरणका लागि रोमान्टिक प्रेम, यौनिक प्रेम, मातापिताको प्रेम, साथी प्रतिको प्रेम, अपरिचित प्रतिको, प्रकृतिक प्रतिको, ईश्वरप्रतिको तथा आफैंप्रतिको प्रेम लगायतका छन् ।

ती मानिसहरुसँग उनीहरुले आफ्नो शरीरमा फरक फरक खालका प्रेमको अनुभूति गर्छन् कि गर्दैनन् ? शारीरिक तथा मानसिक रुपमा कत्तिको तीव्र रुपमा उक्त महसुस गर्दछन् भनेर पनि सोधिएको थियो ।

त्यसक्रममा के पत्ता लागेको छ भने फरक फरक खालको प्रेममा कमजोर हुनेदेखि सशक्त हुनेसम्मको एक निरन्तरता देखिन्छ । उक्त शोध फिलोसोफिकल साइकोलोजी नामक जर्नलमा छापिएको छ ।

प्रेमको तीव्रता

शोधकर्ताहरुले प्रेमको तीव्र अनुभूति पूरै शरीरमा महसुस गरिने बताएका छन् । उच्च शिक्षा प्राप्त गरिरहेका युवती महिलाहरुले दिएका प्रतिक्रियाहरुबाट त्यो तथ्य पत्ता लागेको थियो ।

उक्त अध्ययनका संयोजक दार्शनिक पार्टिली रिने भन्छन्, ‘यद्यपि यो खासै अनौठो मान्नुपर्ने कुरा होइन, तर ध्यान दिनुपर्ने कुरा के छ भने निकट सम्बन्धमा जोडिएको प्रेमको अनुभूति एकै खालको हुन्छ र सबैभन्दा तीव्रताका साथमा महसुस गरिन्छ ।’

सर्भेक्षणमा भाग लिनेहरुलाई मानव शरीरको एउटा आकृतिमा रंग भर्न लगाइएको थियो ताकि शरीरको कुन हिस्सामा कस्तो खालको प्रेमको अनुभूति पैदा हुन्छ र शारीरिक र मानिसक रुपबाट उनीहरुले भिन्नभिन्न तरिकाले कस्तो महसुस हुन्छ ? अनि त्यो अनुभूति कत्तिको सुखद् थियो र स्पर्शसँग त्यसको सम्बन्ध के थियो भन्ने कुरा उनीहरुले बताउन सकून् ।

अन्त्यमा उनीहरुलाई प्रेमका प्रकारहरु मध्ये सबैभन्दा नजिकको प्रकारलाई रेटिङ गर्न भनियो ।

रिनेका अनुसार प्रेमका त्यस्ता प्रकारहरु जो विशेष गरी एक अर्कासँग नजिक हुन्छन्, त्यसमा यौनिक तथा रोमान्टिक पहलु हुन्छन् ।

शोधकर्ताका अनुसार सबै प्रकारका प्रेमलाई टाउकोमा सर्वाधिक महसुस गरिन्छ । तर त्यसको तीव्रता शरीरका विभिन्न भागमा फरक-फरक महसुस हुन्छ । कसैको असर छातिमा हुनछ भने कतिलाई पूरै शरीरभर महसुस गरिन्छ ।

हृदयदेखि मस्तिष्कसम्म असर

रिने भन्छन्, ‘भावनको शारीरिक तथा मानिसक तीव्रता तथा यसको सुखद् अनुभूतिबीच प्रमाणित सम्बन्धका बारेमा पत्ता लाग्नु पनि रुचिकर कुरा हो । प्रेमको अनुभूति शरीमा जति धेरै हुन्छ उति नै धेरै मानसिक रुपमा महसुस गरिन्छ र त्यो अधिक सुखद हुन्छ ।

उनका अनुसार जब हामी तीव्र अनुभूतिवाला प्रेमबाट कम तीव्र अनुभूतिवाला प्रेम महसुस गर्दछौँ, छातिमा उत्तेजना पनि लगातार कमजोर हुँदै जान्छ ।

सायद अपरिचितहरुका लागि प्रेम सोचविचारको प्रक्रियासँग जोडिने भएकाले यस्तो हुन्छ । शिरमा सुखद अनुभूतिको अनुभव हुने भएकाले पनि त्यस्तो हुनसक्छ ।

यसबारेमा थप अध्ययनको आवश्यकता रहेको शोधकर्ताको भनाइ छ । साथै प्रेममा सांस्कृतिक अन्तरको पनि अहम् भूमिका हुनेतर्फ समेत शोधकर्ताहरुले ध्यान दिएका छन् ।

रिने भन्छन्, ‘यदि यहीँ अध्ययन धेरै धार्मिक समुदायमा गरिएको भएमा ईश्वरप्रतिको अनुभूतिवाला प्रेम अधिक तीव्र हुन्थ्यो ।’

त्यस्तै यदि नाता आमाबुवाको हो भने मानिसहरु आफ्ना सन्तानका लागि सबैभन्दा धेरै प्रेम अनुभूति गर्दछन् ।

-बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖