• Tuesday 6th of October 2026

बस दुर्घटनामा श्रीमती र छोरा गुमाए, निमोनियाको उपचार नपाएर आफू बिते


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेर उम्किएका उनी निमोनियाबाट पीडित थिए ।

माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो ।

बडुवालसँग निकट सम्बन्धमा रहेका पत्रकार दीपेन्द्र रावलका अनुसार निमोनियाले गलाउँदै लगेपछि उनलाई काठमाडौंमा उपचार गर्न ल्याउने भनेर नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको थियो । तर हवाईजहाजका कर्मचारीहरुले धेरै उचाइबाट उड्नुपर्ने भएकाले बिरामीलाई झन् समस्या पर्ने भन्दै ल्याउन मानेनन् ।

त्यसपछि हेलिकप्टरको प्रबन्ध गर्न खोज्दा पनि नसकेपछि एम्बुलेन्समार्फत् भारतको लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । ‘हेलिकप्टरको व्यवस्था गरिदिन भनेर धेरै नेताहरुलाई भनियो, गृह मन्त्रालयमा पनि भनियो तर सबैले सामान्य रुपमा लिइदिए,’ पत्रकार रावलले भने, ‘त्यसले गर्दा माओवादी केन्द्रले सुदूरपश्चिमको एकजना राम्रो नेता गुमायो ।’

बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा पार्टीभित्र चिनिन्छन् । उनी २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖