• Tuesday 6th of October 2026

इजरायलमा कामदार पठाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।

इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ ।

पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारका रूपमा नेपाली लैजाने इजरायलले रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउने तयारी थालिएको प्रवक्ता तथा सहसचिव घिमिरेले बताउनुभयो । यसैगरी पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा इजरायलबाट दोस्रो चरणमा पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदार माग गरिएको मन्त्रालयले जनाएको छ । इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक जाने गरेका थिए । तर म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

बन्द भएको झण्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबीच विसं २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि विसं २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भयो ।

यसपछि २०७८ सालमा पहिलो चरणमा एक हजार छ सय जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो । उनीहरूमध्येबाट एक हजार एक सय ७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीको लागि छनोट भएका थिए । सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब रु एक हजार पाँच सय ४३ डलर तोकिएको बताइएको छ ।
–––

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖