आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसीले पक्राउ पर्नुभन्दा दुई अगाडि नै उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश लिएको भेटिएको छ । अदालतले असोज १० गते (बुधबार) उनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
आदेशमा भनिएको छ, ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएकाले प्रचलित कानुन बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ वमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
तर, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले अनमोललाई देवानी प्रकृतिमा नभइ आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा पक्राउ गरेको बताएका छन् । यो फौजदारी मुद्दा रहेको र यसमा पक्राउ गर्न प्रहरीलाई समस्या नहुने उनको दाबी छ । अनमोल शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका हुन् ।
अहिले टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा रहेका अनमोलले कम्तिमा दुई दिनमा हिरासतमा बस्नुपर्ने देखिन्छ । शनिबार विदा हुने भएकाले आइतबार अनुसन्धानका लागि म्याद लिन उनलाई अदालतमा उपस्थित गराउने तयारीमा प्रहरी छ । अदालतले म्याद थपका लागि अनुमति दिए अनमोलको हिरासत बसाई लम्बिनेछ ।
फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । छलफलका लागि बारम्बार बोलाउँदा पनि नआएपछि उनलाई प्रहरीले अदालतको अनुमतिमा पक्राउ गरेको हो ।
अनमोलमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप छ । ‘रावायण’ टिमले उजुरीमा उक्त रकमबापतको क्षतिपूर्ति माग गरेको छ । अनमोललाई दिएको १० लाखसहित ७० जना प्राविधिक तथा कलाकारलाई दिएको अग्रिम भुक्तानीको रकम, म्युजिक, स्क्रिप्ट र प्रपर्टीमा भएको खर्च जोडेर निर्माण टिमले एक करोड १५ लाखको क्षतिपूर्ति दाबी गरेको हो ।
