• Sunday 4th of October 2026

पब्लिक कमेन्ट अफ गरेर अनमोललाई थुनाएका सुदर्शन थापाले लेखे यस्तो स्टाटस


  • धनकुटा खबर
  • .

अभिनेता अनमोल केसी रिहा भएलगतै उनीविरुद्ध जाहेरी दिने निर्माता निर्देशक सुदर्शन थापाले सार्वजनिक अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पब्लिक कमेन्ट अफ गरेर लामो प्रतिक्रिया दिँदै अनमोलसँग लिखित सम्झौता नभएको स्वीकार गरेका छन्।

अनमोल केसीले १० लाख रुपैयाँ लिए पनि भनेको समयमा फिल्म सुटिङमा आउन नमानेपछि एक करोड बढी ठगिको जाहेरी दिएका थिए। तर उनको जाहेरी र प्रमाणलाई मध्यनजर गर्दै प्रहरीले आइतबार साँझ अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरेको छ।

केसी रिहा भएलगतै जाहेरवाला सुदर्शनले भने यस्तो लेखेका छन्:

मेरा सम्पुर्ण सुभचिन्तक तथा आलोचकहरुमा नमस्कार !

म चलचित्र निर्देशक सुदर्शन थापा विगत डेढ दशक देखी चलचित्र क्षेत्रमा ‘मेरो एउटा साथी छ ‘ बाट हालसम्म चलचित्र निर्देशनमा सक्रिय छु । म चलचित्र निर्माण तथा निर्देशन गर्नु बाहेक अन्य कुनै पनि पेशामा संलग्न छैन त्यसैले कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई र लगानीकर्ताको सुरक्षालाई नै विशेष ध्यान दिने गरेको छु ।

मेरो निर्देशनमा निर्माण हुन लागेको पछिल्लो चलचित्र ूरावायणू मेरा लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा मैले लिएको छु । अन्य अर्थतन्त्रका क्षेत्र संगै चलचित्र क्षेत्र पनि धरासायी भएको समयमा एउटा ठुलो क्यानभासको चलचित्रको परिकल्पना गर्नु आफैंमा चुनौतीपूर्ण छ ।

यो विषम परिस्थितिमा एउटा सुन्दर चलचित्र निर्माण गर्ने सपना देख्नु एक मात्रै मेरो निजि स्वार्थ थियो । कुनै पनि स्कृप्टमा मेरो पुर्ण चित्त बुझाई र यसको भबिस्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती म बाट अहिलेसम्म भएको छैन र हुने पनि छैन ।

तसर्थ मेरो पछिल्लो निर्माणाधीन चलचित्रका लागि मैले लामो समय खर्चिएको छु र कलाकार तथा प्राविधिकको छनौटमा समेत विशेष ध्यान दिएको छु । मैले कुनैपनी प्रोजेक्ट गर्दा मेरो टिम र कलाकारलाई काम गर्नका लागि सहज वातावरण निर्माण गरिदिने गरेको छु र अभ्यासका लागि भरपुर समय पनि दिने गरेको छु ।

तर हरेक योजना सम्पन्न गर्नका लागि हामी संग निश्चित समय रहन्छ र त्यो समयसिमा भित्र हामीले सम्पन्न गर्नुपर्ने हुन्छ ।

मेरो अहिलेसम्मको ब्यवसायिक यात्रामा मैले नयाँ तथा पुराना धेरै कलाकार संग सहकार्य गरिसकेको छु । कलाकारको ब्यवसायीक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि ।

तर पछिल्लो समय सामाजिक संजालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यममा लेखाईएका एकतर्फी समाचारप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु ।

चलचित्रको मुख्य पात्रको विना कुनै सहमती पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन ब्यवहारिक र दरिलो मौखीक सहमति मै चलचित्र ‘रावायण’को निर्माण कार्य अगाडी बढेको हो ।

बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु ।

र अन्त्यमा मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णतया तयार गर्न र तोकिएको समयसिमा भित्र आफुलाई हरेक पक्षबाट तयार गरि निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖