• Sunday 4th of October 2026

सबै तैं चुप, मै चुप देख्ता बल्ल गलत त म नै रहेछु भन्ने चेत आयो: प्रदीप खड्का


  • धनकुटा खबर
  • .

काठमाडौं । आज बिहानै नायक प्रदीप खड्काले फेसबुकमा एउटा लामो स्टाटस लेखे, जुन उनका प्रतिस्पर्धी नायक अनमोल केसीविरुद्ध लक्षित थियो । स्टाटसमा राखेको धारणाबाट उनले निकै आलोचना व्यहोर्नुपरेको छ ।

अनमोलले ‘रावायण’ खेल्न एडभान्स लिएर पछि छोडेको विषयमा खड्काले घुमाउरो ढंगले कटाक्ष गरेका थिए । ‘विवाह’को उदाहरण पेश गर्दै उनले एक पटक सुहागरात मनाइसकेपछि कुनै पनि बहानामा दुलहीलाई छोड्न नमिल्ने बताएका छन् । कुनै खोट लगाएर छोडिसकेकी दुलहीमा फेरि विवाहको आत्मविश्वास बाँकी नरहन सक्ने उनको तर्क छ ।

‘दुलहीलाई खोट लगाएर लखेटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ’, खड्काले लेखेका छन् । एउटा कलाकारले स्क्रिप्ट मन नपरेर छोडेको चलचित्र निर्माण गर्न निर्मातामा हौसला बाँकी नरहने कुरालाई उनले यसरी चित्रण गर्न खोजेका हुन् । तर, यो उदाहरणले उनको एकल महिलालाई हेर्ने दृष्टिकोणमाथि नै प्रश्न उठेको छ ।

सामाजिक सञ्जालमा थुप्रैले खड्कामाथि प्रश्न तेर्स्याएका छन् । अनमोलप्रति कुण्ठा पोख्दा असंवेदनशील उदाहरण प्रस्तुत गरेको आरोप उनीमाथि लागेको छ ।

रंग पत्रकार पुष्पा थपलियाले लेखेकी छन्, ‘यो कस्तो अभिव्यक्ति हो ? महिलाको बारेमा उदाहरण दिँदा तपाईं जत्तिको मान्छे संवेदनशील बन्नुपर्छ कि पर्दैन ? बुढाले छाडेकी भनेर दाग लगाइदिएसी उसमा आत्मविश्वास नहोला रे अर्को बिहेका लागि ! तपाईंको इगो अन्तै पोख्नुस् । आफ्नो करिअर र प्रोफेसनको स्वार्थ पूरा गर्न महिला र उसको कुमारीत्व सर्वश्व हो भन्ने भाष्यलाई बढावा नदिनुस् ।’

खड्काले पुष्पाको टाइमलाइनमा आएर जवाफ दिएका छन् । आफूले कसैलाई चोट पु¥याउन नखोजेको र केवल प्रणालीमाथि प्रश्न उठाएको उनको प्रष्टीकरण छ ।

सामाजिक अभियन्ता आशिका तामाङले पनि खड्काको स्टाटसमा कमेन्ट गरेकी छन् ।

उनको स्टाटस यस्तो छः

‘प्रदीप ज्यु, महिलालाई बुढाले छोड्दा किन आत्माविश्वास घट्छ ? कुन जमानामा हुनुहुन्छ ? नेपाली समाजका महिला अहिले कुनै युरोपका महिलाभन्दा कम छैनन् है, तपाईं, नेपाली समाजको महिलाप्रति अपडेट हुन चुक्नुभएछ । दुःख लाग्यो, यति युवा उमेरमा पनि बाउबाजेको पालाका महिलासँग आधुनिक महिलालाई दाज्नुभएकोमा । किन हरेक क्षेत्रको मान्छेले महिलालाई नै हतियार बनाउछ ? हामी महिला भएर जन्मिएर यो धर्तीमा सबैको बोझ हामीले उठाउनु पर्ने ? महिलाको नामले उदाहरण किन दिने ? अरु चिज छैन यो संसारमा ? हामी उदाहरण दिइने वस्तु हौं र ?’

आशिकालाई पनि जवाफ दिन आइपुगे नायक खड्का । उनले आफ्नो स्टाटस राम्ररी नपढिकन कमेन्ट गरेको टिप्पणी गरे । त्यसलाई जवाफ दिँदै आशिकाले स्टाटस राम्ररी पढेर नै लेखेको बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖