• Sunday 4th of October 2026

अनमोलले १० लाख फिर्ता गरेपछि सुदर्शनको आपत्ति- विनाजानकारी अर्काको खातामा पैसा हाल्न पाइँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘रावायण’ मा अभिनय गर्न एड्भान्सस्वरुप लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । ‘रावयण’ कि निर्मात्री सुप्रिया कटुवालको (चन्द्रकला कटुवाल)को बैंक खातामा उनले आज पैसा जम्मा गरिदिएका हुन् ।

अनमोलले चलचित्रका लागि एड्भान्स लिएर पछि धोका दिएको भन्दै सुप्रियाले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले शुक्रबार अनमोललाई पक्राउ गरी हिरासतमा राखेको थियो । हिजो अनमोल हिरासतमुक्त भएका छन् । लगत्तै उनले रकम फिर्ता गरेका हुन् ।

पैसा जम्मा गर्न भरेको भौचरमा ‘अनमोल केसी रावायण रिटर्न’ भनेर लेखिएको छ । सिद्धार्थ बैंकमा डिपोजिट गरिएको रकम मंगलबार सुप्रियाको खातामा जम्मा हुने छ ।

यता निर्देशक सुदर्शन थापा र सुप्रियाले भने अनमोलले पैसा फिर्ता गरेको विषयमा अनभिज्ञता दर्शाएका छन् । नेपाल प्रेससँग कुरा गर्दै थापाले आफूहरुले मिडियामा समाचार हेरेको तर रकम प्राप्त नभएको बताए ।

उनले भने, ‘समाचारहरुमा जे आएका छन्, त्यो नितान्त गलत छ । हामीले पैसा फिर्ता लिएका छैनौं ।’

तर, चन्द्रकला कटवालको खातामा १० लाख रुपैयाँ जम्मा गरिएको भौचर नै बाहिरिएको छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यसरी अर्काको खाताको डिटेल्स लिएर विनाजानकारी कसैले पैसा जम्मा गर्न पाउँछ ? हामीले यसलाई स्वीकारेका छैनौं ।’

उनले थपे, ‘उहाँले आज जम्मा गर्नुभएको हो भने आउला भोलिपर्सिसम्म, तर हाम्रो मुद्दा त्यो होइन ।’

थापाले आफूहरु १० लाख लिएर चित्त बुझाउने पक्षमा नभएको बताए । फिल्मका लागि एक करोडभन्दा बढी खर्च भएकाले त्यो सबै अनमोलले भर्पाइ गर्नुपर्ने उनको माग छ ।

‘उहाँले अरु निर्मातालाई पनि यसरी दुःख दिनुभएको छ, त्यही विषयमा हाम्रो कुरा हो । १० लाखको मात्रै मुद्दा होइन’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖