• Tuesday 6th of October 2026

सन्तान प्राप्ति तथा दीर्घायुका लागि मधेसमा ‘जिउतिया’ मनाइँदै


  • धनकुटा खबर
  • .

वीरगञ्ज । सन्तानको दीर्घायु, सन्तान प्राप्ति, कुल खानदानभित्र परलोक भएका महिला पूर्वजहरूको सम्झना तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्व आजदेखि धार्मिक विधि पूर्वक सुरु भएको छ ।

नेपालको तराई मधेस तथा र भारतको विहार, उत्तर प्रदेशलगायत क्षेत्रकै पवित्र ‘जिउतिया पर्व’ नहाय खाय (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।

व्रत बस्नुअघि आजको दिन व्रतालु महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । आज वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी लगायतका स्थानमा नुहाउन महिलाहरूको भिड लाग्ने गरेको छ ।

त्यसै गरी भोली शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी शनिवार बिहान साढे १० बजेपछि मात्रै व्रतालुले व्रत सम्पन्न गर्नेछन् ।

यस पर्वमा व्रतालुले पवित्र पोखरी वा नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ-आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

त्यसै गरी धार्मिक विधिपूर्वक शुक्रवार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायः जसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ । जिउतिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जिउतिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रतालु आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवाहनको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सात जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवाहनलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएन हुँदा हत्तपत्त महिलाले यो पर्व अँगाल्दैनन् । तर सन्तान हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖