• Tuesday 6th of October 2026

रकम लुटेको मुद्दामा जेल गएका वडाध्यक्ष विष्ट धरौटीमा छुटे


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा छुटेका छन्।

रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट बिहीबार धरौटीमा छुटेका हुन्।

उच्च अदालत सुर्खेतको संयुक्त इजलासले विष्टलाई धरौटीमा छोड्न आदेश दिएको इजलास अधिकृत विनोद आचार्यले जानकारी दिए।
साउन २१ गते जिल्ला अदालत सुर्खेतले उनीसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले वडाध्यक्ष विष्टसँगै सुशील भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरेको थियो।

उच्च अदालतले वडाध्यक्ष विष्टलाई ५ लाख, सुशील भनिने प्रेमलाई ४ लाख र बलिराजलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो। स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए।

वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ गते रकम लुटेर लिएको जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीका आधारमा प्रहरीले विष्टसहित ५ जनालाई पक्राउ गरेको थियो। पुर्पक्षका लागि कारागार चलान भएकाबाहेक दुई जना (सन्तोष थापा र यामराज शाही) लाई भने जिल्ला अदालत सुर्खेतले नै २/२ लाख रुपैयाँ धरौटीमा छोड्न फैसला दिएको थियो।

पक्राउ परेकाहरूविरूद्ध प्रहरीले असार २४ गते अदालतमा मुद्दा दर्ता गराएको थियो।

उक्त घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖