• Tuesday 6th of October 2026

चलाउनेमाथि आक्रमण गर्ने सयुजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


  • धनकुटा खबर
  • .

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सयुजलाई थुनामा पठाउन आदेश दिएको हो।

पटकपटक अदालतको अवज्ञा गरेकाले सयुजलाई थुनामा राखेर पुर्पक्ष गर्न अदालतले आदेश दिएको उपप्राध्यापक चलाउनेले जानकारी दिए।
सुरूमा जिल्ला अदालतले सयुजसहित ७ जनालाई धरौटीमा छाडेको थियो। सयुज लगायत आफूमाथि आक्रमण गर्नेहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णयविरूद्ध चलाउने उच्च अदालत पाटन गएका थिए।
उच्च अदालतले २०७७ फागुनमा पाँच लाख धरौटी, एक लाख अन्तरिम क्षतिपूर्ति तिराउन र नतिरे थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध चलाउने सर्वोच्च अदालत गएका थिए। त्यो बेलासम्म सयुजले धरौटी र अन्तरिम क्षतिपूर्ति बुझाएका थिएनन्। धरौटी बुझाउने म्याद समेत गुजारेका थिए।

सर्वोच्चले अदालतको प्रकृया पूरा नगरेको, धरौटी बुझाउने म्याद गुजारेको लगायत कारण देखाउँदै पुर्पक्षका लागि थुनामा राख्न पर्ने वा नपर्ने यकिन गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो।

त्यहीबीचमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनले धरौटीमा छुटी पाउँ भन्दै निवेदन दिए। उनको निवेदनमाथि न्यायाधीश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिवि विश्वविद्यालयमा कुटपिट भएको थियो। उनीमाथि सयुजसहित सात जनाले कुटपिट गरेका थिए।

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप थियो।

गत जेठ ३० गते बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो। त्यसविरूद्ध उनी सर्वोच्च समेत पुगेका थिए। उक्त निर्णयविरूद्ध उनले अनसन समेत सुरू गरेका थिए। सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशदिएसँगै उपप्राध्यापक चलाउनेले अनसन पनि स्थगित गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖